यु १९ एसिया कप

यु १९ टोलीका एक खेलाडीमा कोभिड संक्रमण पुष्टी, १४ सदस्यीय नेपाली टोली युएई प्रस्थान गर्दै

काठमाडौं । युएईमा हुने यु १९ एसिया कपमा सहभागी हुन जाने १५ सदस्यीय नेपाली टोलीका एक जनामा कोभिड १९ संक्रमण पुष्टी भएको छ ।

'एक खेलाडीमा कोभिड १९ पुष्टी भएको छ', क्यान स्रोतले भन्यो, ‘त्यसैले अब १४ सदस्यीय टोली मात्र युएई प्रस्थान गर्नेछ ।’

प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई आज दिउँसो आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बिदाई गरेका थिए । नेपाली टोली आज राती १०.४५ बजे युएई प्रस्थान गर्नेछ ।

प्रतियोगिताका लागि क्यानले देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

समूह ‘बी’ मा रहेको नेपालले बुधबार बंगलादेशविरुद्ध खेल्दै प्रतियोगितामा आफ्नो यात्रामा सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले शनिबार श्रीलंका र  सोमबार कुवेतको सामना गर्नेछ । 

समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र आयोजक युएई रहेका छन् ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।