प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम र एपिएफ विजयी

धनगढी । सुदूरपश्चिमको धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार सुदूरपश्चिम प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन् ।

समुह ‘बी’ अन्तर्गत फाप्ला क्रिकेट मैदानमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई नौं विकेट तथा र एपिएफले प्रदेश नम्बर दुईलाई ४८ रनको अन्तरमा पराजित गरे ।

सोमबार भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले १८ ओभरमा सबै विकेट गुमाई ३१ रनमात्र बनाएको थियो ।

गण्डकीका कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर गर्न नसकेको खेलमा सुदूरपश्चिमका लागि कविता जोशी र दीपा जोराले दुई÷दुई विकेट लिए भने कविता कुँवर र इश्वरी विष्टले एक÷एक विकेटमा नाम लेखाए ।

जवाफमा ३२ रनको लक्ष्य सुदूरपश्चिमले २.१ ओभरमा एक विकेट गुमाएर हासिल गर्यो ।

घरेलु टोली सुदूरपश्चिमका लागि प्लेयर अफ दी म्याच कविता जोशीले आठ तथा शोभा रोकायाले पाँच रन बनाए । टोलीले १९ अतिरिक्त रन पाएको थियो ।

सोमबारै यसअघि भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले आठ विकेट क्षतिमा ९८ रन बनायो । विहानको हुस्सु र सितलहरले ढिलोसम्म सुरु हुन नसकेको खेललाई १५ ओभरमा छोट्याइएको थियो ।

जहाँ एपिएफका लागि ज्योती पाण्डेयले २४ तथा इन्दु बर्माले २१ रनको योगदान गर्दा रोमा थापाले १४ तथा ममता चौधरीले ११ रन बनाए ।

९९ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर दुईले निर्धारित १५ ओभरमा नौं विकेट गुमाउँदै ५० रनमात्र बनाउन सक्यो ।  

प्रदेश दुईका लागि मेलिना रायमाझीले २० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रतियोगितामा मंगलबार समुह ‘ए’ का दुई खेल हुनेछन् । पहिलो खेलमा यसअघि नै सेमिफाइनलको टिकट काटिसकेका प्रदेश नम्बर एक र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेलले समूहको विजेताको टुंगो लगाउनेछ ।

यसैगरी मंगलबारको अर्को खेलमा समूह चरणबाटै बाहिरिइसकेका कर्णाली र बागमती प्रदेशबीच सान्त्वना जितको अपेक्षासहित प्रतिस्पर्धा हुनेछ ।