आहा रारा गोल्डकप

सुरजको अध्यक्षतामा आहा राराको मुल आयोजक कमिटी गठन

पोखरा । आहा रारा गोल्डकपको २०औं संस्करणको २०७८ भव्य आयोजनाका लागि सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज)को अध्यक्षतामा पाँच सय एक सदस्यीय मुल आयोजक कमिटी गठन भएको छ ।

सहारा क्लब पोखराको आयोजनामा आउदो माघ ६ देखि १५ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगिताको संयोजकमा क्लबका वरिष्ठ उपाध्यक्ष केशवराज बराल चयन भएका छन् । मुलायोजक कमिटीको सदस्यसचिवमा क्लबका महासचिव रामजीप्रसाद अधिकारीलाई चयन गरिएको छ ।

सम्पूर्ण खेलकुदसँग सम्बन्धित संघ सस्था एवं व्यक्तिहरु रहने गरि एक सय एक सदस्यीय सल्लाहकार समिती गठन गरिएको क्लबले जनाएको छ ।

सहारा क्लबले दोबिल्लामा सञ्चालन गरिरहेको फुटबल एकेडेमीको सहयोगार्थ हुने प्रतियोगितामा देश तथा विदेशका प्रतिष्ठित टोलीको सहभागिता रहने गर्छ । नेपाली फुटबलमा अत्यन्तै प्रतिष्ठित प्रतियोगिताका रुपमा स्थापित आहा रारा गोल्डकपमा यसपाली अमेरिकाको एउटा टोली सहभागि हुने बताइएको छ ।

झण्डै दुई दशकदेखि आयोजना गर्दै आएको सहारा एकेडेमीमा हाल १४ जिल्लाका २४ जना खेलाडी फुटबल प्रशिक्षण गरिरहेका छन् ।