भारतीय क्रिकेट

केएल राहुललाई उपकप्तानको जिम्मेवारी

नयाँ दिल्ली । दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृंखलाका लागि भारतीय टोलीमा केएल राहुलले उपकप्तानको जिम्मेवारी पाएका छन् ।

ह्यामस्ट्रिङको चोटका कारण रोहित शर्मा तीन टेस्टको शृंखला खेल्न नसक्ने भएपछि उनको ठाउँमा उपकप्तानको जिम्मेवारी केएल राहुलले पाएका हुन् ।

पृथ्वी शाँ, शुभमन गिल र मायंक अग्रवालहरुले टोलीमा स्थान बनाउँदा दुई वर्षसम्म टेस्ट टिमबाट बाहिर रहेका राहुलले गत अगस्टमा मात्र टेस्ट टोलीमा पुनरागमन जनाएका थिए । तर इङ्ल्यान्ड भ्रमणमा पुनरागमन जनाउँदा नै नटिङघममा सम्पन्न पहिलो टेस्टमै प्रभावशाली ८४ रनको इनिङ खेलेर उनले छनोटकर्ताहरुको ध्यान तानेका थिए ।

इङ्ल्यान्डविरुद्ध उच्च प्रदर्शनलाई निरन्तरता दिने क्रममा लर्डसमा भएको दोस्रो टेस्टमा २९ वर्षे ब्याटरले सतक प्रहार गर्दै भारतको जितको आधार निर्माण गरेका थिए । ओपनिङ पार्टनर रोहित र राहुलको उच्च प्रदर्शन प्रेरित भारतले पाँचौं टेस्टअघि शृंखलामा २१ को अग्रता लिएको थियो । कोभिड १९ महामारीका कारण पाँचौं टेस्ट रद्ध गरिएको थियो ।

डिसेम्बर १६ मा सेन्चुरियनको सुपरस्पोर्टस पार्कमा सुरु हुने दक्षिण अफ्रिका भ्रमणका लागि कप्तान विराट कोहलीले मायंक अग्रवाल र राहुलबाट इनिङ सुरु गराउने निर्णय गरिसकेको बताइएको छ ।

भारतीय टेस्ट टिम ः
विराट कोहली (कप्तान), केएल राहुल (उपकप्तान), मायंक अग्रवाल, चेतेश्वर पुजारा, अजिन्क्या राहने, प्रियांक पाञ्चाल, श्रेयस ऐर, अनुमा विहारी, ऋषव पन्त (विकेटकिपर), रविचन्द्रन आश्विन, ऋदिमन शाह (विकेटकिपर), जयन्त यादव, इशान्त शर्मा, मोहम्मद सामी, उमेश यादव, जसप्रित बुमरा, शार्दुल ठाकुर, मोहम्मद सिराज ।