प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

ओसिस र एन्जल्सको विजयी सुरुआत

काठमाडौं । ओसिस क्रिकेट एकेडेमी र एन्जल्स एससिएले आइतबारबाट सुरु भएको प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत काठमाडौं जिल्लाको छनोट प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।

म्यान अफ दी म्याच सुवोध ढुंगेलको अलराउन्ड प्रदर्शन प्रेरित ओसिसले मुलपानी क्रिकेट मैदानमा हिमालयन क्रिकेट एकेडेमीलाई ३१ रनको अन्तरमा पराजित गर्यो ।

टस हारेर पहिला ब्याटिङ गरेको ओसिसका लागि सचिन शर्माले ६१ तथा सम्राट भुषालले ३५ रनको योगदान गरेपछि टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५६ रन बनाएको थियो । टोलीका लागि सुवोधले १७ रनको योगदान गरे भने विशाल लिम्बुले १४ तथा आयुश भट्टराईले १० रन जोडे ।

हिमालयन क्रिकेट एकेडेमीका रजत तिमल्सिनाले दुई तथा कुसल रुपाखेती र सिदार्थ शाहले एक/एक विकेटमा नाम लेखाए ।

जवाफमा हिमालयन क्रिकेट एकेडेमी २० ओभरमा नौं विकेट गुमाउँदा एक सय २५ रनमा सीमित भयो । हिमालयनका लागि पुश्पराज उपाध्यायले सर्वाधिक ३२ रनको योगदान गर्दा रजत तिमल्सिनाले २३ तथा लक्की कडायतले १३ रन जोडे ।

ओसिसका सुवोध ढुंगोलले चार विकेट लिँदा समुन्द्र ढुंगोलले तीन तथा स्वरुप श्रेष्ठ र प्रशान्त देउजाले एक/एक विकेट लिए ।

प्रतियोगिताअन्तर्गत आइतबार पहिलो दिन भएको अर्को खेलमा एन्जस्लस एससिएले केसिटिसीमाथि दुई विकेटको जित हासिल गर्यो ।

टस जितेर पहिला ब्याटिङ गरेको केसिटिसीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय १९ रन बनाएको थियो ।

केसिटिसीका लागि मदनराज उपाध्यायले २२ रन बनाउँदा इर्शाद अख्तरले २१, भुवनेश्वर रामले अविजित १४ तथा मनिशकुमार सहनीले ११ रन बनाए ।

एन्जल्सका दिवस कुँवर, युवराज खत्री र सार्थक धितालले दुई/दुई तथा श्याम त्रिपाठी र उपेन्द्र खत्रीले एक/एक विकेट लिए ।

जवाफमा एन्जल्सले १८.४ ओभरमा आठ विकेट गुमाउँदै एक सय २० रन बनाएर लक्ष्य पूरा गर्यो ।

एन्जल्सका लागि विवेक न्यौपानेले सर्वाधिक ३१ रन बनाउँदा लक्ष्मण कुँवर र सुरेन्द्र ऐरीले समान १९ तथा योगेश रावलले १५ र म्यान अफ दी म्याच युवराज खत्रीले १० रन बनाए ।

केसिटिसीका राकेश चौरसिया र मनिशकुमार सहनीले दुई/दुई तथा रवि सावद र ओम घिसिङले एक/एक विकेट लिए ।

पुस ९ सम्म चल्ने प्रतियोगिताको एक समारोहका बीच प्रमूख अतिथि बाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्नेत तथा नेपाल क्रिकेट संघका बोर्ड सदस्य छुम्बी लामालगायतले उद्घाटन गरेका थिए ।