नेपाली महिला क्रिकेट

राष्ट्रिय क्रिकेटर कवितालाई एनसिएसएसको सहयोग

काठमाडौं । महिला राष्ट्रिय क्रिकेट खेलाडी कविता गौतमलाई नेपाली क्रिकेट समर्थक समाज ( एनसिएसएस) को ‘कविताको दुखाइ समर्थकको मल्हम’ अभियानबाट संकलित ८० हजार रुपैयाँ आइतबार हस्तान्तरण गरिएको छ ।

चोटबाट मुक्त भएर फिट हुने प्रयासमा रहेकी कवितालाई एनसिएसएसका अध्यक्ष नारायण पराजुलीले सहयोग रकम हस्तान्तरण गरेका थिए ।

सहयोग रकम बुज्दै कविताले सरोकारवाला निकायले गर्नुपर्ने सहयोग आम समर्थकबाट भएको भन्दै देश तथा विदेशबाट साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै छिटो भन्दा छिटो मैदान फर्कने प्रयासमा आफू रहेको बताइन ।

कविता काठमाडौंस्थित आफन्तको घरमा रहेर उपचार तथा फिजियोथेरापी गराइरहेकी छन् । चोट लगभग निको भइसके पनि पुरानै अवस्थामा खेल्न भने केही महिना लाग्ने उनले बताएकी छिन ।

राष्ट्रिय क्रिकेटर सुवास खकुरेलको अग्रसरतामा ग्वार्कोस्थित अर्थोप्लास्टिक रिह्याब सेन्टरमा दैनिक फिजियोथेरापी गर्ने व्यवस्था मिलेको उनले बताएकी छिन ।

कविताले नेपाली राष्ट्रिय महिला क्रीकेट टिमबाट थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रीकेट प्रतियोगिता साथै पछिल्लो समय आयोजना भएको वुमन्स क्रिकेट लिगमा समेत खेलिसकेकी छन ।