भारतीय क्रिकेट

एकदिवसीय टिमको कप्तानबाट आफूलाई थाहा नदिई हटाएको कोहलीको गुनासो

नयाँ दिल्ली । भारतीय टेस्ट टिमका कप्तान विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय टोलीको नेतृत्वबाट हटाइएको विषयमा आफूले अन्तिम समयमामात्र जानकारी पाएको बताएका छन् ।

दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृंखलाका लागि डिसेम्बर आठमा टोली घोषणा गर्नुभन्दा डेढ घण्टाअघिमात्र आफूलाई छनोटकर्ताहरुले ५० ओभरको टोलीको कप्तानबाट हटाएको जानकारी गराएको कोहलीले बताए ।

कोहलीका अनुसार टेस्ट टोली छनोटको जानकारी गराउने क्रममा चेतन शर्मा नेतृत्वको छनोट समितिले एकदिवसीय अन्तर्राष्ट्रिय टोलीको कप्तानका रुपमा रोहित शर्माले उनलाई स्थानान्तरण गर्ने निर्णय सुनाएका थियो ।

संयुक्त अरब इमिरेट्स (युएई) र ओमानमा दुई महिनाअघि सम्पन्न ट्वान्टी २० विश्वकपपछि २० ओभरको टिमको कप्तानी छोड्ने कोहलीले प्रतियोगिताअघि नै घोषणा गरेका थिए ।

‘टेस्ट शृंखलाको लागि टिम छनोट गर्नका लागि मलाई डिसेम्बर आठमा बैठकभन्दा डेढ घण्टाअघि सम्पर्क गरिएको थियो,’ पत्रकार सम्मेलनमा कोहलीले भने, ‘मैले ट्वान्टी २० को कप्तानीको जिम्मेवारी विसाउने निर्णय गरेयता त्यसअघि मसँग छनोट समितिले कुनै पनि बेला सम्पर्क गरेको थिएन । डिसेम्बर आठमा मुख्य छनोटकर्ताले मसँग टेस्ट टोलीको विषयमा छलफल गरे, जसमा हामी दुवै सहमत भयौं । त्यसपछि कुरा टुंग्याउनुअघि पाँच छनोटकर्ताको समितिले एकदिवसीय टोलीलाई पनि मैले कप्तानी नगर्ने निर्णय गरेको सुनाए । मैले ठिक छ भनेँ । योभन्दा बढि मलाई कप्तानबाट हटाउने विषयमा कुनै कुराकानी भएको छैन ।’

कोहलीले तीनै स्वरुपको टोलीलाई नेतृत्व गर्नुपर्दा कामको दबाब धेरै भएको भन्दै सेप्टेम्बर १६ मा ट्वान्टी २० टोलीको कप्तानी त्याग्ने घोषणा गरेका थिए । तर उनले एकदिवसीय अन्तर्राष्ट्रिय र टेस्ट टोलीमा भने नेतृत्वलाई निरन्तरता दिने इच्छा व्यक्त गरेका थिए ।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)का अध्यक्ष सौरव गांगुलीले एक अन्तरवार्तामा बोल्दै आफूले कोहलीलाई कप्तानी छोड्ने निर्णयमाथि पुर्नविचार गर्न अनुरोध गरेको बताएका थिए । तर कोहलीले भने त्यसको ठिक विपरित आफूसँग कसैले केही कुरा नगरेको बताए ।

‘ट्वान्टी २० टिमको कप्तानी छोड्ने विषयमा कुरा गर्न मैले पहिलो पटक बिसिसिआईमा सम्पर्क गर्दा उनीहरुले विना हिच्किचाहट खुसीसाथ त्यसलाई स्वीकार गरेका थिए,’ कोहलीले भने, ‘मलाई कसैले पनि ट्वान्टी २० टिमको कप्तानी नछोड भनेको थिएन । त्यही बेला मैले एकदिवसीय अन्तर्राष्ट्रिय र टेस्ट टोलीको नेतृत्वलाई निरन्तरता दिने इच्छा राखेको थिएँ । इच्छा राख्ने मेरो कुरा हो, निर्णय गर्ने उनीहरुको अधिकार हो । उनीहरुको निर्णयमाथि मेरो कुनै गुनासो छैन ।’