काठमाडौं। रियाल मड्रिडको आधिकारिक फ्यान क्लब, रियाल मड्रिड फ्यान क्लब नेपाल (काठमाडौं विङ्स) को आयोजनामा हुने छैठौं इन्ट्रा म्याड्रिस्टा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
बल्खुस्थित भिजननोभा फुटसलमा शनिबार हुने प्रतियोगितामा रियाल मड्रिड फ्यान क्लब नेपालका आठ वटा विङ्सले सहभागि जनाउनेछन् ।
प्रतियोगितामा पुरुषतर्फ काठमाडौं ‘ए’, काठमाडौं ‘बी’, पोखरा, चितवन, हेटौंडा, नुवाकोट, बुटवल र कोशीले सहभागिता जनाउनेछन् ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।
महिलातर्फ भने काठमाडौंका दुई टोली मात्रै सहभागी हुनेछन्। अन्य विङ्सबाट महिला टोलीको सहभागिता नहुँदा यी दुई टोलीले तीन खेल खेल्नेछन्।
यसैगरी जुम्लाले प्रदर्शनी खेल खेल्नेछ। प्रतियोगिताको खेल तालिका सार्वजनिक र ट्रफी अनावरण शुक्रबार गरिनेछ ।
आयोजक काठमाडौं विङ्सका प्रमुख सुमित खनालले प्रतियोगिताले नेपाली म्याड्रिस्टाबीचको सहकार्य र फुटबलको माया झन् प्रगाढ बनाउने अपेक्षा गरिएको बताए ।