काठमाडौं । लोकेश बमको उत्कृष्ट प्रदर्शनप्रेरित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित दर्ता गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार विराटनगरले लुम्बिनी लायन्सविरुद्ध दुई विकेटको जित निकाल्यो ।
जितसँगै विराटनगरले तीन खेलमा दुई अंक जोडेको छ । लुम्बिनीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
विराटनगर अघिल्ला दुई खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।
लुम्बिनीले प्रस्तुत गरेको १९२ रनको लक्ष्यको विराटनगरले एक बल बाँकी रहँदा आठ विकेट गुमाउँदै पूरा गर्यो ।
विराटनगरका लागि लोकेश बमले सर्वाधिक ७१ रनको योगदान गरे । यसैगरी बसिर अहमदले ४०, मार्टिन गप्टिलले २८ र क्रिस सोलेले अविजित १४ रन बनाए ।
लोकेशले पाँचौं विकेटका लागि बसिरसँग ७८ तथा दोस्रो विकेटका लागि मार्टिनसँग ६२ रनको साझेदारी गरे । लुम्बिनीका लागि दुर्गेश गुप्ताले तीन, रामोन सिमन्ड्स र साद बिन जफरले समान दुई तथा विवेक यादवले एक विकेट लिए ।
पहिलो ओभरको अन्तिम बलमा रामोन सिमन्ड्सले इस्मल आलमलाई रनको खाता पनि खेल्न नदिइ कप्तान रोहितकुमार पौडेलबाट क्याच गराए ।
दुर्गेश गुप्तामार्टिन गप्टिललाई आठौं ओभरको पहिलो बलमा बोल्ड गरे । उनले उनले १७ बलमा ६ चौकको मद्दतले २८ रन बनाए ।
\साद बिन जफरले १०औं ओभरको तेस्रो बलमा राजेश पुलामीलाई कट एन्ड बोल्डको सिकार बर्नाए । १० बलको सामना गरेका उनले चार रन बनाए । लगत्तैको बलमा जफरले निकालस किर्टनलाई बोल्ड गरे ।
दुर्गेशले १६ औं ओभरको दोस्रो बलमा बसिर अहमदलाई बेन कटिङबाट क्याच गराए । उनले २४ बलमा चार चौका र एक छक्काको मद्दतले ४० रन बनाए ।
सिमोन्ड्सले १७औं ओभरको चौथो बलमा ७१ रन बनाएर खेलिरहेका लोकेश बमलाई सन्दीप जोराबाट क्याच गराए । ४७ बलको सामना गरेका उनले ६ छक्का र तीन चौका प्रहार गरे ।
दुर्गेशले १९औ ओभरको दोस्रो बलमा प्रतिश जिसीलाई आफ्नो तेस्रो सिकार बनाए । ६ रन बनाएका प्रतिश बोल्ड भए ।
विवेकले २०औ ओभरको पहिलो बलमा कप्तान सन्दीप लामिछानेलेलाई सिमोन्ड्सबाट क्याच गराए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९१ रनको योगफल तयार पारेको ।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ४६, टम मुर्सले ३०, विवेक यादवले अविजित १९, अर्जुन साउदले १७, आशुतोष घिरैया र साद बिन जफरले समान १५ तथा सन्दीप जोराले १२ रन बनाए ।
तेस्रो विकेटका लागि रोहित र टमले ६७ रनको साझेदारी गरे । विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, राजेश पुलामी र इस्मत आलमले समान एक विकेट लिए ।
चौथो ओभरको पहिलो बलमा आशुतोष घिरैया रन आउटको सिकार बने । १३ बलको सामना गरेका उनले दुई चौका र एक छक्काको मद्दतले १५ रन बनाए ।
आठौं ओभरको दोस्रो बलमा अर्जुन साउद १७ रन बनाएर पेभेलियन फर्किए । १९ बलमा तीन चौका प्रहार गरेका उनलाई इस्मत आलमले बोल्ड गराए ।
रोहितकुमार पौडेललाई १३औं ओभरका पाँचौं बलमा राजेश पुलामीले प्रतिश जिसीबाट क्याच गराए । उनले २९ बलमा चार चौका र दुई छक्काको मद्दतले ४६ रन बनाए ।
टम मुर्स १४औं ओभरको चौथो बलमा रन आउट भए । १७ बलको सामना गरेका उनले तीन छक्का र एक चौकाको मद्दतले ३० रनको योगदान गरे ।
सन्दीप जोरा १७ औं ओभरको दोस्रो बलमा रन आउट भए । उनले १३ बलमा १२ रन जोडे । सन्दीप लामिछानले १९औं ओभरको दोस्रो बलमा १५ रन बनाएर खेलिरहेका साद बिन जफरलाई मार्टिन गप्टिलबाट क्याच गराए ।
सोही ओभरको चौथो बलमा ६ रन बनाएर खेलिरहेका बेन कटिङ रन आउट भए ।
बुधबारै सम्पन्न पहिलो खेलमा काठमाठौं गुर्खाजले कर्णाली याक्सविरुद्ध तीन विकेटको जित दर्ता गरेको थियो ।