क्यान

पुबुदुको पुनरागमन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा  पुबुदु दसानायकेलाई नियुक्त गरेको छ ।

शनिबार बिहान बसेको क्यान बोर्ड बैठकले पूर्व प्रशिक्षक पुबुदुलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

श्रीलंकाका पूर्व खेलाडी समेत रहिसकेका पुबुदको प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा सम्पन्न ट्वान्टी२० क्रिकेट विश्वकप खेलेको थियो । ट्वान्टी२० विश्वकप क्रिकेटमा त्यो नै नेपालको पहिलो सहभागिता थियो । त्यसपछि भने नेपाल ट्वान्टी२० विश्वकपमा छनोट हुन सकेको छैन ।

पुबुदुको प्रशिक्षणमा नेपालले सन् २०११ देखी २०१५ सम्म खेलेको थियो । नेपालले डिभिजन चार र तीनको उपाधि जित्दा पुबुदुले नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए ।

असोजमा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पुबुदुले भैरहवा ग्ल्याडियटर्सलाई प्रशिक्षण दिएका थिए ।

भदौमा तत्कालिन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले अचानक राजीनामा घोषणा गरेपछि नेपाली राष्ट्रिय टोलीमा सो पद रिक्त रहेको थियो ।

क्यानले कात्तिक एकमा मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको थियो । जसमा ६० जनाले आवेदन दिएका थिए ।

क्यानले राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षक छान्न कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रवन्धक रौनकबहादुर मल्ल, क्रिकेट म्यानेजर विनोदकुमार दास र आइसिसीका एक प्रतिनिधी रहने गरी पाँच सदस्यीय छनोट समिति गठन गरेको थियो ।

सो समितीलाई ६० जना आवेदकमध्येबाट सर्टलिस्टमा परेका पाँच जनाले अन्तरवार्ताका दिएका थिए ।

आवेदन दिएका उम्मेद्धवारमध्येबाट क्यानले दयानायकेसँगै वेस्ट इन्डिजका ब्याटिङ सल्लाहकार मोन्टी देसाईलाई  उनीहरुले प्राप्त गर्ने पारिश्रमिक, सेवा सुबिधा, कर्तत्व र लक्ष्यसहित  मुख्य प्रशिक्षकका लागि प्रस्ताव पठाएको थियो ।