साफ यु-१९ महिला च्याम्पियनसिप

सुखद सुरुआतको लक्ष्यमा नेपाल

काठमाडौं । नेपाल शनिबारबाट सुरु हुने साफ यु १९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दा तीन अंकका साथ प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ ।

ढाकास्थित बिएसएसएस मुस्तफा कमल स्टेडियममा नेपाल र बंगलादेशको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।

नेपाली टोली सन्  २०१८ मा भुटानमा सम्पन्न साफ यु १८ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित हुँदै उपििवजेतामा सीमित भएको थियो ।

त्यसैले तीनवर्ष अघि फाइनलमा बंगलादेशसँग पराजित भएपछि उपाधिबाट विमूख भएको नेपाल यसपाली पहिलो खेलमै त्यो हारको बदला चाहन्छ ।

बंगलादेश जानुअघी कप्तान अञ्जना रानामगरले भनेकी थिइन्, ‘टोलीको तयारी एकदमै राम्रो छ । राम्रो प्रशिक्षक पनि पाएका छौं । सबै खेलाडी राम्रा छन् । लक्ष्य च्याम्पियन बन्ने छ । त्यहि अनुसार तयारी भएको छ । टोलीमा बहिनीहरु सिनियरसँग खेल्न पाउँदा उत्साहित छन् । राम्रो नतिजा ल्याउनेमा आशावादी छु ।’

नेपाली टोलीका प्रशिक्षक हरि ओम श्रेष्ठले घरेलु टोली बंगलादेशसँग हारको बदला उनीहरुको नै मैदानमा लिने बताएका थिए ।

‘अघिल्लो संस्करणमा अन्तिम समय हामी बंगलादेशसँग हारेका थियौं । बदला लिनु छ । उनीहरुकै मैदानमा जितेर आउँछौं । आक्रमणमा राष्ट्रिय खेलाडीहरु छन् । नयाँ खेलाडी पनि बैकल्पिक रुपमा ( कुशुम खतिवडा, अमिशा कार्की) बलिया छन् । तालमेल मिलाउन गाह्रो छैन,’ उनले भने ।

पाकिस्तान र माल्दिभ्सको सहभागिता नरहेको प्रतियोगितामा पाँच टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालसहितका सहभागिहरु आयोजक बंगलादेश, भारत, भुटान र श्रीलंकाका टोलीले राउन्ड रोविन पद्दतीमा खेल्दै फाइनलको बाटो खोज्नेछन् । पहिलो चरणका शीर्ष दुई टोली पुस सातमा हुने फाइनललाई छानिन्छन् ।

नेपालले दोस्रो खेल मंसिर २९ गते श्रीलंका, तेस्रो खेल पुस दुईमा भुटान र चारमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।