एसेस टेस्ट शृंखला

रुट र मालनको साझेदारीमा सम्हालिँदै इङ्ल्यान्ड

सिड्नी । कप्तान जो रुट र मध्यक्रमका ब्याटर डेविड मालनको अर्धशतकमा इङ्ल्यान्डले शुक्रबार अस्ट्र्रेलियाविरुद्ध एसेस शृंखलाअन्तर्गत पहिलो टेस्टको दोस्रो इनिङमा सम्हालिएको प्रदर्शन गरेको छ ।

तेस्रो दिनको खेल समाप्तीमा इङल्यान्ड २२०-२ को स्थितीमा छ । इङ्ल्यान्ड अस्ट्रेलिया भन्दा अझै ५८ रनले पछि छ । रुट अविजित ८६ र मालन अविजित ८० रनमा खेलिरहेका छन् ।

 रुटले एक सय ५८ बलमा १० चौका प्रहार गर्दा मालनले एक सय ७७ बलमा १० चौका प्रहार गरे ।

२३ रन जोड्दा ओपनर रोरी बनर्स र ६१ रनमा हासिब हामिदलाई गुमाएको इङ्ल्यान्डको इनिङ तेस्रो विकेटका लागि रुट र मालनले अविजित एक सय ५९ रनको साझेदारी गर्दै सम्हालेका हुन् ।

अस्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिङसले समान एक विकेट लिए । 

यसअघि ३४३-७ बाट तेस्रो दिनको खेल सुरु गरेको अस्टे्रलिया थप ८२ रन जोड्दा बाँकी रहेको तीन विकेट गुमाएसँगै पहिलो इनिङमा चार सय २५ रनमा सीमित भएको थियो । अस्ट्रेलियाले पहिलो इनिङमा इङ्ल्यान्डमाथि दुई सय ७८ रनको अग्रता बनाएको थियो ।

दोस्रो दिनको समाप्तीमा अविजित एक सय १२ रनमा खेृलिरहेका ट्रेविस हेड थप ४० रन जोडे । हेडले एक सय ४८ बलमा चौध चौका र चार छक्का मद्दतमा एक सय ५२ रन जोडे ।

इङ्ल्यान्ड पहिलो इनिङमा मात्र एक सय ४७ रनमा सीमित भएको थियो ।