सहिद स्मारक ‘ए’ डिभिजन लिग

मनाङ शीर्ष स्थानमा

काठमाडौं । फ्रेन्डस क्लबमाथि २-० को सहज जितका साथ मनाङ मस्र्याङदी क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न चौथो चरणको पहिलो खेलमा मनाङलाई तीन अंक दिलाउँन ओलाओले आफिज र दिनेश राजवंशीले समान एक गोल गरे ।

मनाङ चार खेलमा १० अंकसहित शीर्ष स्थानमा फर्किएको हो । तीन खेलमा समान सात अंक बटुलेका सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लब क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । चार खेलमा मात्र दुई अंक जोडेको फ्रेन्डस भने  १२औं स्थानमा छ ।

४०औं मिनेतमा कप्तान अञ्जन विष्टको पासमा आफिजले गरेको गोलमा मनाङले अग्रता लिएको थियो । ७२औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकलाई दिनेशले हेडरमार्फत जाली चुमाउँदै मनाङको अग्रता दोब्बर पारेका थिए ।

यसअघि २१औं मिनेटमा  अञ्जनको पासमा स्ट्राइकर एडेलाजा सोमिडेले सेकेण्ड बार च्याप्दै प्रहार गरेको बल पोस्ट भन्दा केही माथिबाट बाहिरिदाँ मनाङले अग्रताको अवसर गुमएको थियो ।

३९औं मिनेटमा मनाङका आफिजले गरेको प्रहार गोलकिपर राहुल यादवले विफल पार्दै फ्रेन्डसको संकट टारेका थिए ।

४३औं मिनेटमा मनाङले अग्रता दोब्बर पार्ने अवसर गुमायो । पुजन उपरकोटीको फ्रिककमा अञ्जनले गरेको हेडर फ्रेन्डसका रक्षक रोनिल पाउलले बचाएका थिए ।

फ्रेन्डस जारी लिगमा अझै जितविहिन छ ।