काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजले अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाको चौथो खेलमा आइतबार इङ्ल्यान्डविरुद्ध पाँच विकेटको जित निकालेको छ ।
वेस्ट इन्डिजको यो जितसँगै पाँच खेलको शृंखला ३-१ को स्थितीमा आएको छ । यसअघि इङ्ल्यान्ड, आठ, सात र तीन विकेटले विजयी भएको थियो ।
डारेन सामी नेसन्नल क्रिकेट मैदानमा इङ्ल्यान्डले प्रस्तुत गरेको २१९ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
वेस्ट इन्डिजका लागि इभन लइसले ३१ बलमा सात छक्का र चार चौकाको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे । यसैगरी साइ होपले २४ बलमा सात चौका र तीन छक्काको मद्दतले ५४, कप्तान रोभमन पावेलले ३८ र शेर्फन रादरफोर्डले अविजित २९ रन बनाए ।
पहिलो विकेटका लागि लुइस र होपले १३६ रनको साझेदारी गरे । इङ्ल्यान्डका लागि रेहान अहमदले तीन र जोन टर्नरले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको थियो ।
इङ्ल्यान्डका लागि जाकोब बेटहिलले ३२ बलमा पाँच छक्का र चार चौकाको मदद्तले अविजित ६८ रनको योगदान गरे । यसैगरी फिल साल्टले ३५ बलमा पाँच चौका र चार छक्काको मद्दतले ५५, कप्तान जोस बटलरले ३८, ज्याक विलले २५ र साम करनले २४ रन बनाए ।
पाँचौं विकेटका लागि बेटहिल र करनले ६३ तथा पहिलो विकेटका लागि साल्ट र विलले ५३ रनको साझेदारी गरे । वेस्ट इन्डिजका लागि गुडाकेश मोतीले दुई तथा अल्जारी जोसेफ र रोस्टन चेजले समान एक विकेट लिए ।
शृंखलाको पाँचौं तथा अन्तिम खेल सोमबार हुनेछ ।