बिसिसिआई

विराटको सहमतीमा रोहितलाई कप्तानमा नियुक्त गरिएको गांगुलीको दाबी

दिल्ली । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले बुधबार रोहित शर्मालाई एक दिवसीय टोलीको कप्तानीको जिम्मेवारी दियो ।

नयाँ जिम्मेवारीसँगै रोहितले जनवरीमा दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय शृंखलाबाट औपचारिक रुपमा भारतीय टोलीको कप्तानी सम्हाल्नेछन् ।

तर बिसिसिआईले विना जानकारी तत्कालिन कप्तान विराट कोहलीलाई हटाएको भन्दै आलोचना भएपछि अध्यक्ष सौरभ गांगुलीले सो निर्णयको बचाउमा उत्रिएका छन् ।

गांगलुले भने विराटसँगको सल्लाहपछि रोहितलाई ट्वान्टी२०सँगै एक दिवसीय क्रिकेट टोलीको कप्तानीको पनि जिम्मेवारी दिने निर्णय गरेको बताएका छन् ।

‘यो बिसिसिआई र छनोट कमिटीको संयुक्त निर्णय हो,’गांगुलीले भने, ‘हामीले विराटलाई ट्वान्टी२० टोलीको कप्तानी नछोड्न आग्रह गरेका थियौ तर उनले हाम्रो आग्रह मानेनन् । त्यसैले छनोट कमिटीले सीमित ओभरको क्रिकेटमा दुई कप्तान राख्न उचित नहुने भन्दै विराटको स्थानमा ट्वान्टी२० र एक दिवसीय क्रिकेट टोलीको कप्तानी रोहितलाई दिने निर्णय गरेको हो ।’

गांगुलीले विराटले टेस्ट टोलीको कप्तानीलाई निरन्रता दिने बताए ।

नोभेम्बर दोस्रो साता सम्पन्न ट्वान्टी२० विश्वकपपछि विराटले भारतीय ट्वान्टी२० टोलीको कप्तानी छोडेका थिए । यद्धपी उनले ट्वान्टी२० विश्वकपपछि टोलीको कप्तानी छोड्ने घोषणा भने पहिले नै गरिसकेका थिए ।

विराटले एक दिवसी र टेस्ट टोलीको कप्तानी भने सम्हाल्ने बताएका थिए ।

गत साता सम्पन्न न्युजिल्यान्डविरुद्धको दुई टेस्ट शृंखलाअन्तर्गत विराटलाई पहिलो टेस्टमा आराम दिइएको थियो । दोस्रो टेस्टमा भने विराट टोलीमा फर्किएका थिए । सो टेस्ट भारतले तीन सय २५ रनले जितेको थियो ।