पेले

समर्थकलाई चिन्ता नलिन पेलेको आग्रह

ब्रासिलिया । ब्राजिलियन फुटबलका महान हस्ती पेलेले सामाजिक संजालमार्फत समर्थकलाई आफू केही दिनमै अस्पतालबाट डिस्चार्ज हुने भन्दै चिन्ता नलिन आग्रह गरेका छन् ।

बुधबार पेटको उपचारको लागि ब्राजिलको साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा भर्ना भएका ८१ वर्षीया पेलेले इन्स्ट्राग्राममा मुस्कुराएको तस्बिर सर्वजनिक गर्दैै आफ्नो अवस्था सामान्य रहेको समेत सन्देश दिन खोजेका छन् ।

पेलेले इन्स्ट्राग्राममा लेखेका छन्, ‘साथीहरु, सेप्टेम्बर ३० मा पेटको ट्युमरको शल्यक्रिया गराएर म अस्पतालबाट डिस्चार्ज भएको थिए र केमोथेरापीबाट मेरो उपचार गराइरहेको थियो । २०२१ को अन्तिम सत्रका लागि आज अल्बर्ट आइन्सटाइन अस्पतालमा छु । हरेक उपलब्धिहरु मैले तपाइहरुसँग सेयर गर्ने गरेको छु । म केही दिन यहाँ बस्नेछु, चिन्ता नगर्नुस् म छुट्टीको लागि तयारी गरिहेको छु ।’

उनको यस पोष्टमा पोर्चुगल तथा म्यानचेस्टर युनाइटेडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ‘हिम्मत नहार साथी 'भन्दै प्रतिक्रिया जनाएका छन् ।

सन् २०१५ मा प्रोस्टेटको शल्यक्रिया गराएका पेले केही वर्ष देखि स्वास्थ्य समस्याबाट गुज्रिरहेका थिए । उनी ६ महिनामा दुईपटक अस्पताल भर्ना भएका छन् ।

२०१९ मा पिसाबमा समस्या भएपछि पनि उनी अस्पताल भर्ना हुनु परेको थियो ।

पेले एकमात्र यस्ता खेलाडी हुन् जसले १९५८, १९६२ र १९७० मा तीनपटक विश्व कपको उपाधि जितेका थिए ।

आफ्नो समयका सर्वाधिक गोलकर्ता रहेका पेलेले ब्राजिल राष्ट्रिय टोलीबाट खेलेको ९२ खेलमा ७७ गोल गरेका थिए ।