काठमाडौं । नेपाल पहिलो पटक आइसिसी महिला यु-१९ ट्वान्टी-२० विश्वकपमा छनोट भएको छ । एसिया छनोटको अन्तिम खेलमा बुधबार नेपालले घरेलु टोली युएईविरुद्ध आठ विकेटको जित निकाल्यो ।
जितसँगै नेपालले ६ खेलमा १० अंक जोड्यो । युएईको पनि समान अंक नै भए पनि नेपाल रनरेटमा अगाडि रह्यो ।
यसअघि युएईले कुवेतलाई १०६ र १८४ रन, थाइल्यान्डलाई ७४ रन र ९ विकेट तथा नेपाललाई १३ रनले पराजित गरेको थियो ।
यसैगरी नेपालले कुवेतलाई १०८ र १६५ तथा थाइल्यान्डलाई ६७ र १०६ रनले हराएको थियो ।
द सेभेन रंगशालामा युएईले प्रस्तुत गरेको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि साना प्रविनले अविजित ३५, कप्तान पूजा महतोले २१, सोनी पाख्रिनले अविजित १३ र सावित्री धामीले १२ रन बनाए ।
युएईका लागि दुवै विकेट मेहक ठाकुरले लिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ८३ रनको योगफल तयार पार्यो । युएईका लागि समाइरा धरनिधर्काले ३१, रिनिथा रजितथले २० तथा लाभन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए ।
नेपालका लागि करिस्मा गुरुङले चार, रिया शर्मा र सीमा केसीले समान दुई तथा रचनाकुमारी चौधरीले एक विकेट लिए ।
आइसिसी महिला यु-१९ विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुँदैछ ।