एसेस टेस्ट शृंखला

एसेस टेस्ट शृंखलाः जितका लागि इङ्ल्यान्ड आतुर

सिडनी । विश्व क्रिकेटका चिरप्रतिद्धन्दी अस्ट्रेलिया र इङ्ल्यान्डबीचको एसेस टेस्ट शृंखला मंगलबार रातीबाट ब्रिसबेमा सुरु हुँदैछ । 

इङ्ल्यान्ड ३५ वर्षपछि अस्ट्रेलियाली भुमिमा एसेस टेस्ट शृंखला जित्न चाहन्छ । इङ्ल्यान्डले हाल सम्म एक पटक मात्र अस्ट्रेलियाली भुमिका एसेस टेस्ट शृंखला आफ्नो पक्षमा पारेको छ ।

पछिल्लो शृंखला बराबरीमा रोकिए पनि अस्ट्रेलिया एसेसको साविक विजेता हो । शृंखला बराबरी भएमा त्यसअघिको विजेताले उपाधि राख्ने भएकाले अस्ट्रेलिया एसेसको साविक विजेता हो ।

सन् २०१७-१८ को शृंखलामा अस्ट्रेलियाले पाँच टेस्टको शृंखला ४-० ले आफ्नो पक्षमा पारेको थियो । मेलबर्नमा सम्पन्न चौथो टेस्ट भने इङ्ल्यान्डले बराबरीमा टुङ्गाएको थियो ।

आयोजक अस्ट्रलिया घरेलु मैदानमा शृंखला जित्दै आफ्नो दबदबा कायम राख्न चाहन्छ भने इङ्ल्यान्ड घरेलु टोलीलाई निराश पार्दै शृंखला जित्न आतुर छ ।

एसेसको पाँच टेस्ट शृंखलाअन्तर्गत पहिलो खेल डिसेम्बर ८ देखी १२ सम्म ब्रिसबनेमा, दोस्रो टेस्ट डिसेम्बर १६ देखी २० सम्म एडिलेडमा , तेस्रो टेस्ट डिसेम्बर २६ देखी ३० सम्म मेलबर्नमा र चौथो टेस्ट जनवरी ५ देखी ९ सम्म सिड्नीमा हुनेछ । पर्थमा तय पाँचौ टेस्ट भने अन्यत्र सारिएएको छ । खेल स्थल परिवर्तन भएपनि पाँचौ टेस्ट यसअघि निर्धारित मिति ( जनवरी १४ देखी १८ ) सम्म हुने क्रिकेट अस्ट्रेलिया (सिए) ले जनाएको छ । 

एसेस टेस्ट शृंखलादौरान दर्शकले मैदानमा गएर खेल हेर्न पाउनेछन् ।तर कोभिड १९ महामारीको कारण कुनै पनि बेला दर्शकमाथि प्रतिबन्ध लाग्न सक्ने सिएले जनाएको छ ।

इङ्ल्यान्ड टेस्ट टोलीको कप्तानी जो रुटले गर्नेछन् भने अस्ट्रेलियाको नेतृत्व प्याट कमिङस्ले सम्हाल्नेछन् । विवादमा मुछिएसँगै अस्ट्रलियाली टेस्ट टोलीका कप्तान टिम पायनेले राजिनामा दिएपछि कमिङस्ले टोली नेतृत्वको जिम्मेवारी पाएका हुन् ।

 पायनेले तत्कालिन कप्ताान स्टिभ स्मिथ बल टेम्परिङको घटनामा मुछिएपछि सन् २०१७ मा कप्तानीको जिम्मेवारी पाएका थिए ।

अलराउन्डर बेन स्टोक्स करिब पाँच महिनापछि मैदान फर्कदैछन् । जुन इङ्ल्यान्डका लागि बलियो पक्ष रहनेछ । कप्तान  रुट यस वर्ष उत्कृष्ट लयमा छन् । उनले यस वर्ष ६ टेस्ट शतक प्रहार गरेका छन्, जसमा दुई दोहोरो शतक पनि समावेश छ । उनले कुल १४ सय ५५ रन बनाएका छन् ।