एसेस शृंखला

एसेस टेस्ट शृंखला कप्तानी प्रमाणित गर्ने अवसरः रुट

लन्डन । इङ्ल्यान्ड टेस्ट क्रिकेट टोलीका कप्तान जो रुटले अस्ट्रेलियाविरुद्धको एसेस टेस्ट शृंखला आफ्नो कप्तानी प्रमाणित गर्ने अवसर भएको बताएका छन् ।  

रुट आइसिसी टेस्ट वरियताको ब्याटिङतर्फ शीर्ष स्थानमा छन् । वरियताको दोस्रो र तेस्रो स्थानमा अस्ट्रेलियन ब्याटर स्टिभ स्मिथ र न्युजिल्यान्डका कप्तान केन विलियम्सन छन् ।

अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्ध घरेलु मैदानमा भएको  पछिल्लो आठ टेस्ट शृंखलामध्ये सातमा जित निकालेको छ ।

‘अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा जित निकाल्न इङ्ल्यान्डका कप्तान तथा इङ्लिस टोलीलाई कति कठिन छ भन्ने विगतले देखाउँछ । म शृंखलाका लागि निकै उत्साहित र प्रतिक्षारत छु,’ रुटले भने ।

‘एसेस शृंखलाको उपाधिसँगै अन्तर्राष्ट्रिय स्तरमा आफू एक उत्कृष्ट खेलाडी तथा कप्तान भएको प्रमाणित गर्दै म यस एसेस टेस्ट प्रतिद्धन्द्धीताको इतिहासमा सदैव रहिरहन चाहन्छु ।’

रुटले यसवर्ष १२ टेस्ट खेलबाट ६६.१३ को औसतमा एक हजार चार सय ५५ रन जोडेका छन् । रुटलाई पछ्याइरहेको भारतीय ब्याटर रोहित शर्मा पाँच सय रनभन्दा धेरैले पछि छन् ।