इटालियन सिरी ए

टोलीले गोल लयलाई कायम राख्नुपर्छः एलेग्री

मिलान । इटालियन सिरी ‘ए’ क्लब युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले टोलीले गोल लयलाई कायम राख्नुपर्ने बताएका छन् ।

आइतबार युभेन्टसले जिनोवामाथि २–० को सहज जित हात पारेको थियो । निर्धारित समयमा युभेन्टसले गाेलका लागि २७ प्रहार गरे पनि जिनोवाका गोलकिपर साल्वाटोर सिरिगुले बिफल बनाएका थिए ।

‘हामी धेरैभन्दा धेरै अवसरलाई गोलमा परिणत गर्दै स्वभाविक लयमा फर्कन चाहन्छौ । सिरी ‘ए’ मा हाम्रो टोली खराब लयमा छ, यसलाई सुधार गर्न चाहन्छौ । अन्य खेलभन्दा जिनोवासँगको खेलमा टोलीको प्रदर्शन राम्रो थियो,’ उनले भने, ‘पक्कै पनि हामी गोलको यही लयलाई कायम राख्न चाहन्छाैं। हामीसँग सिरी ‘ए’, च्याम्पियन्स लिग र कोपा इटालियाको लागि बेग्लाबेग्लै लक्ष्य छ र टोली सोहीअनुरुप अघि बढ्ने छ ।’

च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरिसकेको युभेन्टसले बुधबार मल्मो एफएफसँग प्रतिस्पर्धा गर्दैछ ।

सिरी ‘ए’ मा २७ अंक जोडेको युभेन्टस तालिकाको पाँचौ स्थानमा छ ।