काठमाडौं । बंगलादेशमाथि १० विकेटको फराकिलो जित निकाल्दै भारत नवौं पटक एसिसी महिला ट्वान्टी-२० एसिया कपको फाइनल प्रवेश गरेको छ ।
रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार बंगालदेशले प्रस्तुत गरेको ८१ रनको लक्ष्य भारतले ११ ओभरमा कुनै पनि विकेट नगुमाउँदै पूरा गर्यो ।
भारतका लागि स्मृति मन्धनाले ३९ बलमा नौ चौका र एक छक्काको मद्दतले ५५ र सफाली वर्माले २६ रन बनाए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८० रनको योगफल तयार पारेको थियो ।
बंगलादेशका लागि कप्तान नगर सुल्तानाले ३२ र स्वर्णा अख्तरले १९ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भारतका लागि रेनुका सिंह र राधा यदावले समान तीन तथा पूजा वस्त्राकर र दिप्ती शर्माले समान एक विकेट लिए ।
भारतले उपाधिका लागि श्रीलंका र पाकिस्तानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।