काठमाडौं । एसिसी महिला ट्वान्टी-२० एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानसँग नौ विकेटको पराजय ब्यहोरेको छ ।
यो नतिजासँगै समूह ‘ए’ मा दुवै टोलीको दुई खेलबाट समान चार दुई अंक छ । पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले हराउँदा पाकिस्तान भारतसँग सात विकेटले पराजित गरेको थियो।
रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार नेपालले प्रस्तुत गरेको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्यो ।
पाकिस्तानका लागि गुल फिरोजाले ३५ बलमा १० चौकाको मद्दते सर्वाधिक ५७ रनको योगदान गरिन् । यसैगरी मुनिबा अली ४६ रनमा अविजित रहिन् ।
पहिलो विकेटका लागि गुल र मुनिबाले १०५ रनको साझेदारी गरे । नेपालका लागि एक मात्र विकेट कविता जोशीले लिइन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि कविता जोशीले अविजित ३१ रनको योगदान गरिन् । यसैगरी सीता रानमगरले २६, पुजा महतोले २५ र कविता कुँवरले १३ रन बनाए ।
पाकिस्तानका लागि सादिया इक्बालले दुई र फातिमा सानले एक विकेट लिए ।
अब नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार भारतको सामना गर्नेछ ।