ट्वान्टी २० विश्वकप

अस्ट्रेलियालाई पहिलो ट्वान्टी २० विश्वकप उपाधि

दुबई । मिचेल मार्स र डेविड वार्नरको आक्रामक ब्याटिङ प्रेरित अस्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले निराश पार्दै पहिलो पटक ट्वान्टी २० विश्वकपको उपाधि उचालेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न फाइनलमा मार्स र वार्नरले अर्धसतकीय इनिङ खेलेपछि न्युजिल्यान्डले दिएको एक सय ७३ रनको लक्ष्य सात बलअघि नै पूरा गर्दै अस्ट्रेलिया पहिलो पटक ट्वान्टी २० विश्वकपको उपाधि उचाल्न सफल भएको थियो ।

ट्वान्टी २० विश्वकपको सातौं संस्करण सम्पन्न हुँदा वेस्ट इन्डिजले दुई पटक उपाधि जितेको छ भने यसअघि भारत, इङल्यान्ड, पाकिस्तान र श्रीलंकाले एक÷एक पटक उपाधि जितेका थिए । एकदिवसीय विश्वकपमा पाँच पटक च्याम्पियन भइसकेको टोलीले यसअघि २० ओभरको विश्वकपमा भने बाजी मार्न सकेको थिएन ।

कप्तान आरोन फिन्च पाँच रन बनाएर ट्रेन्ट बोल्डको बलमा डारिल मिचेलबाट समातिएपछि १५ रनमा पहिलो विकेट गुमाएको अस्ट्रेलियाको इनिङ मार्स र वार्नरले सम्हालेका थिए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मार्सले दोस्रो विकेटका लागि वार्नरसँग ९२ बलको साझेदारी गरे । वार्नर ३८ बलमा चार चौका र तीन छक्कासहित ५३ रन बनाएर बोल्टको बलमा बोल्ड भए ।

त्यसपछि पनि इनिङ सम्हाल्ने क्रममा मार्सले अविजित ७७ रन बनाए । ५० बल खेलेका मार्सले ६ चौका र चार छक्का प्रहार गरेका थिए । मार्सले ग्लेन म्याक्सवेलसँग अविजित ६६ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई जित दिलाए । म्याक्सवेलले १८ बलमा चार चौका र एक छक्कासहित अविजित २८ रन जोडे ।

कप्तान केन विलियम्सनले कप्तानी इनिङ खेल्ने क्रममा परिपक्व ब्याटिङका साथ ८५ रनको अर्धसतकीय इनिङ खेलेपछि यसअघि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले चार विकेट गुमाएर एक सय ७२ रनको योगफल बनाएको थियो ।

ओपनर डारिल मिचेल ११ रन बनाएर जोस हेजलउडको बलमा विकेटकिपर म्याथु वेडबाट स्टम्पिङ आउट भएपछि दबाबमा आएको न्युजिल्यान्डको इनिङ सम्हाल्ने क्रममा विलियम्सनले दोस्रो विकेटका लागि मार्टिन गप्टिलसँग ४८ तथा तेस्रा विकेटका लागि ग्लिन फिलिप्ससँग ६८ रनको साझेदारी गरेका थिए ।

४८ बलमा १० चौका र तीन छक्कासहितको सानदार इनिङ खेलेपछि उनी हेजलउडको बलमा स्टिभ स्मिथबाट समातिए । १८औं ओभरमा हेजलउडले दुई विकेट लिने क्रममा फिलिप्सलाई पनि सिकार बनाएका थिए ।

टस हारेर पहिला ब्याटिङका लागि निम्त्याइएको न्युजिल्यान्डका लागि गप्टिलले ३५ बलमा तीन चौकासहित २८ रन बनाएका थिए भने फिलिप्सले १७ बलमा एक चौका र एक छक्कासहित १८ रन जोडे ।

शीर्ष पंक्तिका ब्याटरहरुले बनाएको आधारको भरपूर फाइदा उठाउँदै जिमी निसमले उत्कृष्ट फिनिसिङ गर्ने क्रममा सात बलमा १३ रन बनाए । यसक्रममा निसमले एक छक्का प्रहार गरेका थिए ।

अस्ट्रेलियाका लागि हेजलउडले चार ओभरमा १६ रन खर्चिँदै तीन विकेट लिए भने एडम जाम्पाले एक विकेटमा नाम लेखाए ।