कतार विश्वकप २०२२

रुसको आत्मघाती गोलमा क्रोएसियाको कतार यात्रा पक्का

जग्राब । साविक उपविजेता क्रोएसियाले कतार विश्वकप २०२२ मा आफ्नो स्थान सुरक्षित गरेको छ । 

आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलमा रुसलाई १-० ले पराजित गरेसँगै क्रोएसियाले समूह ‘एच’ को विजेताका रुपमा अर्को वर्ष हुने विश्वकपको टिकट काटेको हो ।

क्रोएसियासँग पराजित भएसँगै पछिल्लो विश्वकपको आयोजक रुसले भने विश्वकपमा स्थान बनाउन प्लेअफ खेल्नुपर्ने भएको छ ।

८१औं मिनेटमा  रुसका फ्योडोर कुद्रासोभबाट भएको आत्मघाती गोल क्रोएसियाको जितमा निर्णायक बन्यो ।

आइतबारै भएको समूह ‘एच’ अन्तर्गतका अन्य खेलमा स्लोभाकियाले माल्टालाई ६-० र स्लोभानियाले साइप्रसलाई २-१ ले पराजित गरेका छन् ।

समूह ‘एच’ को शीर्ष स्थानमा रहेको क्रोएसियाले १० खेलबाट २३ अंक जोड्यो । त्यस्तै दोस्रो स्थानमा रहेको रुसले २२ अंक जोड्यो । तेस्रो स्थानको स्लोभाकिया तथा चौथो स्थानको स्लोभानियाले समान १४ तथा पाँचौं स्थानको साइप्रस र छैटौं स्थानको माल्टाले पाँच अंक जोडे ।