ट्वान्टी २० विश्वकप

विश्वकप उपाधि जित्न अस्ट्रेलियालाई एक सय ७३ रनको लक्ष्य

दुबई । कप्तान केन विलियम्सनले कप्तानी इनिङ खेल्ने क्रममा परिपक्व ब्याटिङका साथ अर्धसतकीय इनिङ खेलेपछि ट्वान्टी २० विश्पकपको फाइनलमा आइतबार न्युजिल्यान्डले अस्ट्रेलियालाई एक सय ७३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

विलियम्सनले ८५ रन बनाएपछि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ७२ रनको योगफल तयार गरेको थियो ।

ओपनर डारिल मिचेल ११ रन बनाएर जोस हेजलउडको बलमा विकेटकिपर म्याथु वेडबाट स्टम्पिङ आउट भएपछि दबाबमा आएको न्युजिल्यान्डको इनिङ सम्हाल्ने क्रममा विलियम्सनले दोस्रो विकेटका लागि मार्टिन गप्टिलसँग ४८ तथा तेस्रा विकेटका लागि ग्लिन फिलिप्ससँग ६८ रनको साझेदारी गरे ।

४८ बलमा १० चौका र तीन छक्कासहितको सानदार इनिङ खेलेपछि उनी हेजलउडको बलमा स्टिभ स्मिथबाट समातिए । १८औं ओभरमा हेजलउडले दुई विकेट लिने क्रममा फिलिप्सलाई पनि सिकार बनाएका थिए ।

टस हारेर पहिला ब्याटिङका लागि निम्त्याइएको न्युजिल्यान्डका लागि गप्टिलले ३५ बलमा तीन चौकासहित २८ रन बनाएका थिए भने फिलिप्सले १७ बलमा एक चौका र एक छक्कासहित १८ रन जोडे ।

शीर्ष पंक्तिका ब्याटरहरुले बनाएको आधारको भरपूर फाइदा उठाउँदै जिमी निसमले उत्कृष्ट फिनिसिङ गर्ने क्रममा सात बलमा १३ रन बनाए । यसक्रममा निसमले एक छक्का प्रहार गरेका थिए ।

अस्ट्रेलियाका लागि हेजलउडले चार ओभरमा १६ रन खर्चिँदै तीन विकेट लिए भने एडम जाम्पाले एक विकेटमा नाम लेखाए ।