ट्वान्टी २० विश्वकप

स्वास्थ्य मापदण्ड पालना नगर्दा राष्ट्रिय महिला क्रिकेट टोलीले ढाकामा जहाज चढन पाएन

काठमाडौं । कोभिड १९ महामारीका कारण लागु गरिएको स्वास्थ्य मापदण्ड पालना नगरेका कारण बंगलादेशबाट काठमाडौं फर्किने क्रममा ढाका विमानस्थल पुगेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले जहाज चढ्न पाएन ।

विमानबाट आउन नपाएपछि १५ खेलाडी र तीन अधिकारीसहितको १८ सदस्यीय महिला राष्ट्रिय टोली भारतको बाटो हुँदै सडकमार्गबाट काठमाडौं आउन लागेको नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी गराए ।

संयुक्त अरब इमिरेट्स (युएई)मा यही नोमेम्बर २२ देखि २८ सम्म हुने आइसिसी महिला ट्वान्टी २० विश्वकपको एसिया छनोट प्रतियोगिताको तयारीका लागि महिला टोली बंगलादेश क्रिरा शिखा प्रतिष्ठानविरुद्ध तीन खेलको मैत्रीपूर्ण शृंखला खेल्न ढाका पुगेको थियो ।

‘पहिला टिमलाई विमानस्थलमै पिसिआर परिक्षण हुने भनिएको थियो ।  त्यहीअनुसार टिम सोझै विमानस्थल पुगेको थियो । तर ढाका विमानस्थलमा त्यस्तो कुनै परिक्षणको व्यवस्था थिएन । क्यानले आफ्नो तर्फबाट बंगलादेश प्रशासनसँग अनुरोध गरेको थियो । तर सफल भइएन’, मल्लले भने, ‘अहिले राष्ट्रिय टोली ढाकास्थित नेपाली दुताबासमा छ । शुक्रबार बिहानसम्ममा टोली भारतको बाटो हुँदै काकडभिट्टा आइपुग्नेछ । शुक्रबारै टिम काठमाडौं आइपुग्नेछ ।’

मल्लले टिमका व्यवस्थापक र अन्य अधिकारीहरुसँग यस विषयमा औपचारिक प्रतिवेदन माग गरेको र कुनै गल्ती देखिए कार्वाही गर्ने बताए ।

नेपाली टोली थप तयारीका लागि कतार जाने क्यान अधिकारीहरुले बताएका छन् । भोली शुक्रबारै टिम कतार जाने प्रारम्भिक योजना रहे पनि ढाकाको समस्याका कारण नयाँ निर्णय भइसकेको छैन । महिला टोली नोभेम्बर १९ मा कतारबाट सोझै दुबई पुग्नेछ ।