उपमेयर कप राष्ट्रिय महिला फुटबल

गौरीगंगा सेमिफाइनलमा

काठमाडौं । रोङ गाउँपालिकालाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै गौरीगंगा नगरपालिका  उप मेयर कप राष्ट्रिय महिला लिग छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा बुधबार निर्धारत समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

२७औं मिनेटमा अनिता राईको गोलमा रोङ गाउँपालिकाले अग्रता लिएको थियो । तर ६९औं मिनेटमा तुलसा बोहराले गोल गर्दै गौरीगंगालाई खेलमा फर्काएकी थिइन् ।

खेलको प्लेअर अफ द म्याचको पुरस्कार गौरीगंगा नगरपालिकाकी लिला जोसीले पाइन् ।

आजको अन्तिम खेलमा गोदावरी नगरपालिका र कन्काई नगरपालिकाबीच प्रतिस्पर्धा हुदैछ ।