ट्वान्टी २० विश्वकप

प्रतिष्ठाको लडाईमा कमजोर नामिबियामाथि भारतको रवाफ

दुबई । बलरहरुले बनाएको आधारलाई ओपनिङ ब्याटरद्धय रोहित शर्मा र केएल राहुलले अर्धसतकीय इनिङ खेल्दै क्लाइमेक्स दिएपछि भारतले विश्वकप सुपर १२ को अर्थहिन खेलमा एसोसिएट प्रतिद्वन्द्वी नामिबियामाथि नौं विकेटको फराकिलो जित हासिल गरेको छ ।

प्रतियोगितामा अगाडि बढ्ने सम्भावनाबाट बञ्चित भइसकेका दुई टोलीबीच भएको समूह दुईको खेलमा भारतीय कप्तान विराट कोहलीले टस जितेर फिल्डिङ रोजेका थिए ।

भारतका लागि रविचन्द्रन आस्विन र रविन्द्र जडेजाले तीन÷तीन तथा जसप्रित बुमराले दुई विकेट लिएपछि नामिबियालाई निर्धारित २० ओभरमा १३२–८ मा रोकेको भारतले १५.२ ओभरमा एक् विकेटको क्षतिमा एक सय ३६ रन बनाउँदै प्रतिष्ठाको लडाई जितेको थियो ।

सुपर १२ को समूह दुईबाट यसअघि नै सबै पाँच खेलमा जित हासिल गरेको पाकिस्तान विजेता तथा पाँचमध्ये चार खेल जितेको न्युजिल्यान्ड उपविजेताको हैसियतमा सेमिफाइनल पुगिसकेकाले यो खेलको प्रतियोगितामा खास अर्थ थिएन । प्रतियोगिताको मुख्य दाबेदारमध्ये एकको हैसियतमा संयुक्त अरब इमिरेट्स (युएई) भ्रमण गरेको भारतको निराशाजनक विश्वकप यात्रामा यो खेल प्रतिष्ठाको लडाईमा सीमित भएको थियो ।

कप्तानको हैसियतमा कोहलीको यो अन्तिम खेल थियो । उनले यसअघि नै विश्वकपपछि लागु हुने गरी कप्तानको जिम्मेवारीबाट राजीनामा गरिसकेका छन् । यसैगरी भारतीय टिममा प्रशिक्षकका रुपमा यो रवि शास्त्रीको पनि अन्तिम खेल रहयो । शास्त्रीले पनि विश्वकपपछि टिमबाट बिदा लिने निर्णय गरिसकेका थिए ।

भारतको विजय आधार निर्माण गर्ने क्रममा आस्विनले चार ओभरमा २० रन खर्चिएका थिए भने निक्कै किफायती प्रदर्शन गरेका जडेजाले चार ओभरमा १६ रनमात्र खर्चिए । बुमराले भने चार ओभरमा १९ रन दिएका थिए ।

नामिबियाका लागि डेविड विसेले बनाएको २६ रन सबभन्दा ठूलो व्यक्तिगत स्कोर थियो । टोलीक लागि ओपनर स्टेफन बार्डले २१ तथा उनका ओपनिङ पार्टनर मिचेल भान लिंगेनले १४ रन जोडेका थिए । यसैगरी कप्तान जेरार्ड इरास्मसले १२ रन बनाए भने यान फ्रिलिंकले अविजित १५ र रुबेन त्रुम्पेल्म्यानले अविजित १३ रन बनाए ।

एक सय ३३ रनको लक्ष्य पछ्याउने क्रममा थुप्रै पटक जीवनदान पाएका रोहित शर्माले ५६ रनको योगदान गरे । ३७ बल सामना गरेका रोहितले सात चौका र दुई छक्का प्रहार गरेका थिए ।

यसैगरी केएल राहुलले ३६ बलमा चार चौका र दुई छक्कासहित अविजित ५४ रनको योगदान गर्दा सूर्यकुमार यादव २९ बलमा चार चौकासहित २५ रन बनाएर अविजित रहे ।