ट्वान्टी २० विश्वकप

भारतलाई नामिबियाले दियो एक सय ३३ रनको लक्ष्य

दुबई । ट्वान्टी २० विश्वकप सुपर १२अन्तर्गतको अन्तिम खेलमा भारतले सोमबार एसोसिएट प्रतिद्वन्द्वी नामिबियालाई एक सय ३२ रनमा रोकेको छ ।

प्रतियोगितामा अगाडि बढ्ने सम्भावनाबाट बञ्चित भइसकेका दुई टोलीबीच भएको समूह दुईको खेलमा भारतीय कप्तान विराट कोहलीले टस जितेर फिल्डिङ रोजेका थिए । कप्तानको हैसियतमा कोहलीको यो अन्तिम खेल हो । उनले यसअघि नै विश्वकपपछि लागु हुने गरी कप्तानको जिम्मेवारीबाट राजीनामा गरिसकेका छन् । यसैगरी भारतीय टिममा प्रशिक्षकका रुपमा यो रवि शास्त्रीको पनि अन्तिम खेल हुनेछ । शास्त्रीले पनि विश्वकपपछि टिमबाट बिदा लिने निर्णय गरिसकेका छन् ।

समूह दुईबाट विजेताको हैसियतमा पाकिस्तान तथा उपविजेताको रुपमा न्युजिल्यान्डले सेमिफाइनलको यात्रा पक्का गरिसकेका छन् । प्रतियोगिताको मुख्य दाबेदारमध्ये एक मानिएको भारतका लागि यो खेल प्रतिष्ठाको लडाईमा सीमित भएको छ ।

भारतका लागि रविचन्द्रन आस्विन र रविन्द्र जडेजाले तीन÷तीन तथा जसप्रित बुमराले दुई विकेट लिएर नामिबियाको इनिङ सानो स्कोरमा सीमित पारेका थिए । आस्विनले चार ओभरमा २० रन खर्चिएका थिए भने निक्कै किफायती प्रदर्शन गरेका जडेजाले चार ओभरमा १६ रनमात्र खर्चिए । बुमराले भने चार ओभरमा १९ रन दिएका थिए ।

नामिबियाका लागि डेविड विसेले बनाएको २६ रन सबभन्दा ठूलो व्यक्तिगत स्कोर थियो । टोलीक लागि ओपनर स्टेफन बार्डले २१ तथा उनका ओपनिङ पार्टनर मिचेल भान लिंगेनले १४ रन जोडेका थिए । यसैगरी कप्तान जेरार्ड इरास्मसले १२ रन बनाए भने यान फ्रिलिंकले अविजित १५ र रुबेन त्रुम्पेल्म्यानले अविजित १३ रन बनाए ।