ट्वान्टी २० विश्वकप

वेस्ट इन्डिज र श्रीलंकाले अर्को वर्षको विश्वकपमा छनोट चरण खेल्नुपर्ने

दुबई । आइसिसी विश्वकपअन्तर्गत सुपर १२ को अन्तिम खेलमा अस्ट्रेलियासँग आठ विकेटले पराजित भएर प्रतियोगिताबाट बाहिरिएसँगै साविक विजेता वेस्ट इन्डिजले २०२२ मा हुने ट्वान्टी २० विश्वकपको सुपर १२ मा सोझै खेल्न नपाउने भएको छ ।

आइसिसी ट्वान्टी २० वरियतामा १०औं स्थानमा रहेको वेस्ट इन्डिजले श्रीलंकासँगै सुपर १२ का लागि प्रारम्भिक चरणमा खेलेर छनोट हुनुपर्ने भएको छ ।

प्रतियोगिताअन्तर्गत सुपर १२ का सबै खेलमा पराजित भए पनि बंगलादेश वरियताको आठौं स्थानमा रहँदै सोझै अर्को वर्ष अस्ट्रेलियामा हुने विश्वकपको दोस्रो चरणलाई छानिएको छ ।

हालै घरेलु मैदानमा भएको अस्ट्रेलिया र न्युजिल्यान्डविरुद्धको खेलमा जित निकालेका कारण बंगलादेश आइसिसी ट्वान्टी २० वरियताको शीर्ष आठमा रहन सफल भएको हो ।

यस्तै आइसिसी ट्वान्टी २० वरियतामा अफगानिस्तान पनि शीर्ष आठमा रहन सफल भएको छ ।

अर्को वर्ष हुने विश्वकपको सुपर १२ मा जारी विश्वकपको विजेता र उपविजेतासँगै आइसिसीको शीर्ष आठमा रहने टोलीले सोझै स्थान बनाउने छन् । जसमा बंगलादेश र अफगानिस्तानसँगै पाकिस्तान, इङ्ल्यान्ड, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र अस्ट्रेलिया छन् ।