ट्वान्टी २० विश्वकप

वेस्ट इन्डिज क्रिकेटमा विरासत छोड्न सफल ब्राभो भन्छन् : नयाँ पुश्तालाई छोड्ने समय आयो

दुबई । अस्ट्रेलियासँग शनिबार आठ विकेटले पराजित हुँदा ड्वायन ब्राभोको चम्किलो ट्वान्टी २० अन्तर्राष्ट्रिय करियरको अन्त्य सुखद बन्न सकेन । तर दुई पटक ट्वान्टी २० विश्वकप जित्नुका साथै विश्वकै सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा ११औं स्थानमा रहेका वेस्ट इन्डिजका अलराउन्डरले एउटा विरासत छोड्न भने सफल भएका छन् ।

फ्रेन्चाइज ट्वान्टी २० क्रिकेटलाई निरन्तरता दिने निर्णय लिएका ब्राभोले अन्तर्राष्ट्रिय करियर भने केही वर्षअघि नै टुंग्याउने सोच बनाएका थिए ।

‘म केही वर्षअघि नै अन्तर्राष्ट्रिय ट्वान्टी २० क्रिकेटबाट संन्यास लिने सोचमा पुगेको थिएँ । तर वेस्ट इन्डिज क्रिकेट बोर्डको अध्यक्षमा परिवर्तन भएपछि नेतृत्वको अनुरोधका कारण मैले अन्तर्राष्ट्रिय करियरलाई निरन्तरता दिएँ । म शारिरिक रुपमा पूर्ण फिट थिएँ र क्रिकेटसँग रमाइरहेको पनि थिएँ,’ ब्राभोले संन्यासको घोषणापछि भने, ‘वेस्ट इन्डिजको क्रिकेटमा थप केही योगदान गर्ने उर्जा मलाई नयाँ नेतृत्वले भर्यो र म अहिलेसम्म यहाँ टिक्न सफल भएँ ।’

उनले केही वर्षअघि संन्यासको निर्णय लिइसके पनि त्यसबाट फर्किन आफूलाई किरन पोलार्डले सहयोग गरेको स्मरण गरे ।

‘मैले आफ्नो विशेषज्ञता भएको २० ओभरको क्रिकेटमा फर्किन चाहन्छु भनेर पोलार्डसँग भनेँ । उनीहरुले मलाई अवसर दिए । त्यसका लागि म उनीहरुप्रति आभारी छु,’ ब्राभोले थपे, ‘मैले वेस्ट इन्डिजका लागि थप दुई वर्ष खेल्न आफैसँग प्रतिबद्धता जनाएको थिएँ । तर त्यसको एक वर्ष महामारीले खेर फाल्यो ।’

ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा हुनका लागि यो उपयुक्त समय भएको बताए । भेट्रान खेलाडीको बिदाइबाट नयाँ पुश्तालाई अवसर मिल्ने उनको भनाई थियो ।

‘नयाँ पुश्ताका खेलाडीहरुसँग मेरो निक्कै राम्रो मित्रता छ । टिमबाछ बिदा भए पनि म उनीहरुसँगै हुनेछु । मेरो अनुभवबाट मिल्न सक्ने सबै फाइदा उनीहरुलाई हुनेछ । उनीहरुको पनि १२ देखि १८ वर्ष लामो करियर होस भन्ने म कामना गर्छु र त्यसका लागि उनीहरुलाई आवश्यक सहयोग गर्नेछु,’ ब्राभोले भने ।

एउटा अत्यन्तै भावुक दिनमा ब्राभोले १२ बलमा १० रन बनाए । अस्ट्रेलियाको इनिङमा उनले चार ओभरको स्पेलमा ३६ रन खर्चिए । तर आफूलाई पहिचान गर्ने, प्रशिक्षित गर्ने र एउटा विश्वस्तरीय स्टारका रुपमा स्थापित गर्ने सबैलाई उनले बिदाइको अवसरमा सम्झिए ।

‘मलाई ६ वर्षको उमेरमा देखेर मभित्रको प्रतिभा चिन्दै अवसर दिने चाल्र्सलाई म आज धन्यवाद भन्न चाहन्छु । सान्टा क्रुजको टेनिस कोर्टमा साथीहरुसँग खेल्दै गरेको मलाई चाल्र्सले त्यो दिन देखेर पहिचान नगरेको भए आज म कहाँ हुन्थेँ, मलाई नै थाहा छैन । उनले मलाई त्यहाँबाट उठाएर देशको सबभन्दा उत्कृष्ट क्विन्स पार्क क्रिकेट क्लबमा पुर्याएका थिए,’ ब्राभो भावुक भए, ‘त्यसपछि सानै उमेरमा मेरो क्रिकेट धरातल बन्यो । मेरो करियरमा धेरै मानिसहरुले ठूल्ठुला योगदान गरेका छन् । पक्कै पनि वाल्यकालमा मलाई डोर्याउने ब्रायन लारा र ब्राइट स्मिथ, ब्रोड दाजुभाईहरुले मलाई धेरै सहयोग गरेका छन् । आज म उनीहरु सबैलाई सम्मानका साथ स्मरण गर्न चाहन्छु ।’