आइसिसी ट्वान्टी २० विश्वकप

जमैकामा खेलेर विदा लिने गेलको चाहना

दुबई । वेस्ट इन्डिजका आक्रामक ब्याटर क्रिस गेलले अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइनसकेको बताएका छन् ।

शनिबार अल राउन्डर ड्वायन ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएपछि गेल पनि विदा हुने चर्चा चुलिएको थियो ।

यद्धपी गेलले घरेलु समर्थकमाझ खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा लिन चाहेको इच्छा व्यक्त गरे ।

‘मेरो क्रिकेट करियर अभूतपूर्व रह्यो,’ गेलले भने, ‘मैले संन्यासबारे कुनै घोषणा गरेको छैन । तर टोलीबाट जमैकामै घरेलु समर्थकमाझ खेल्ने एक अवसर आयो भने म सबैलाई धन्यवाद भन्न तयार छु । त्यसो हुन सकेन भने म संन्यासको घोषणा गर्दै ब्राभोसँगै जोडिने छु र सबैलाई धन्यवाद भन्नेछु । तर, अहिले नै म यसको (संन्यासको) घोषणा गर्न सक्दिन ।’

४२ वर्षिय भेट्रान गेलले सन् १९९९ मा भारतविरुद्धको एकदिवसीय खेलमार्फत वेस्ट इन्डिजबाट डेब्यु गरेका थिए ।