आइसिसी ट्वान्टी २० विश्वकप

रोयको अर्धशतकमा इङ्ल्यान्डको सानदार जित

दुबई । ओपनर जसन रोयको अर्धशतकप्रेरित  इङ्ल्यान्डले आइसिसी ट्वान्टी२० विश्वकप क्रिकेटमा लगातार दोस्रोे जित दर्ता गरेको छ ।

बुधबार भएको ग्रुप टु को पहिलो खेलमा इङ्ल्यान्डले बंगलादेशमाथि आठ विकेटको सहज जित हात पारेको हो । यसअघि शनिबार इङ्ल्यान्डले वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको थियो ।

बंगलदेशले प्रस्तुत गरेको एक सय २५ रनको लक्ष्य इङ्ल्यान्डले १४.१ ओभरमा दुई विकेट क्षतीमा पूरा गरेको थियो ।

इङ्ल्यान्डका ओपनर रोयले ६१,डाविड मालनले अविजित २८ र जस बट्लरले १८ रनको योगदान गरे ।

रोय र बट्लरले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि रोयले मालनसँग ७३ रनको साझेदारी गरेका थिए ।

रोयले ३८ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । मालनले २५ बलमा तीन चौका प्रहार गरे ।

बंगलदेशको जारी प्रतियोगितामा यो लगातार दोस्रो हार हो । आइतबार भएको खेलमा बंगलदेशले श्रीलंकालाई नतिजा सुम्पिएको थियो ।

यसअघि टस जितेर व्याटिङमा आएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २४  रनको योगफल तयार गर्यो ।

बंगलादेशका मुसफिकुर रहिमले सर्वाधिक २९ रन जोडे । त्यस्तै कप्तान मोहमुदुल्लाह र नासुम अहमेदले समान १९ र नुरुल हसनले १६ जोडे ।

इङ्ल्यान्डका टाएमल मिल्सले तीन, लियाम लिभिङस्टन र मोइन अलीले समान दुई तथा क्रिस ओक्सले एक विकेट लिए ।