उपमेयर कप राष्ट्रिय महिला फुटबल

रेखाको ह्याट्रिकमा धनगढीको सहज जित

काठमाडौं । धनगढी उपमहानगरपालिकाले धनकुटा नगरपालिकालाई ५-० हराउँदै उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजय सुरुआत गरेको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न समूह ‘एच’ अन्तर्गतको खेलमा धनगढीको सहज जितमा रेखा पौडेलले ह्याट्रिक गरिन् । त्यस्तै चन्द्रा भण्डारी र सिमा रावलले समान एक गोल गरे । 

बुधबार सम्पन्न अन्य खेलमा गोदावरी नगरपालिकाले पोखरा महानगरपालिकालाई ६-० र गैंडाकोट नगरपालिकाले हेटौंडा उपमहानगरपालिकालाई १-० ले हराएको थियो ।

बिहीबार पहिलो खेल बिहान ९ बजे समूह ‘इ’ अन्तर्गत सिमकोट गाउँपालिका र काठमाडौं महानगरपालिकाबीच हुनेछ । सो खेल प्रतियोगिताको दोस्रो दिन हुनुपर्ने तालिका रहेपनि  प्राविधिक कारणले रोकिएपछि खेल  ११ गतेको लागि सारिएको थियो ।

यसअघि काठमाडौं महानगरपालिकाले समूहको पहिलो खेलमा इलामको रोङ गाउँपालिकासँग बराबरी खेल्दै अंक बाँडेको थियो । 

दिउँसो १२ बजे समूह ‘आइ’ अन्तर्गत सुनसरीको बराहक्षेत्र नगरपालिका र कञ्चनपुरको वेदकोट नगरपालिकाबीच हुनेछ । 

अन्तिम खेल दिउँसो ३ बजे धरान उपमहानगरपालिका र सुनकोशी गाउँपालिकाबीच हुनेछ ।