काठमाडौं । विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्ने उद्देश्यका साथ कालापत्थरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।
मे २९ अर्थात ‘एभरेष्ट डे’ का अवसरमा सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित ५ हजार ६४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ आयोजना गरिएको हो ।
नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा भएको खेलमा नेपालको पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) र अमेरिकाकी रेस्लर डानियल मोरिसन (डानी मो) भिडेका थिए । जसमा भगवतीले विजयी भइन् ।
रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा हालसम्म यती उचाइमा रेस्लिङ नखेलिएकाले यो विश्व रेकर्ड हुने दाबी गरिन् ।
मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् । अल अराउन्ड ट्रेक्सका एमडी सोनम शेर्पाले कार्यक्रमका लागि सहजीकरण गरेका थिए ।