काठमाडौं, (खेलाडी)- धुन्दुल नाम्ग्यालले बुधबार सम्पन्न नेपाल टुरिजम कप गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा स्टेबलफोर्ड पद्दतिअनुसार भएको प्रतियोगितामा १० ह्यान्डिक्यापका साथ प्रतिस्पर्धा गरेका नाम्ग्यालले ४१ स्कोर गरेका थिए ।
नरेन्द्र गुरुङ उपविजेता हुँदा वाङचेन धोन्दुपले ग्रसतर्फको पुरस्कार जिते । धोन्दुपले ३८ स्कोर गरेका थिए ।
४० ग्रस प्वाइन्ट स्कोर गरेका धोन्दुपले एउटै सट खेर नफाली चार बर्डी प्रहार गरेका थिए । उनले सर्वाधिक बर्डीको पुरस्कार पनि हात पारे ।
सुश्मा कोइराला ३३ अंकका साथ महिलातर्फको विजेता बन्दा ३० स्कोर गरेकी करिस्मा शाह उपविजेता भइन ।
मंगोलियाका लागि महावाणिज्य दुत टिजी श्रेष्ठले ६० वर्षमाथिको प्रतिस्पर्धामा ३४ स्कोरका साथ उपाधि जित्दा ३३ स्कोर गरेका गोकर्ण गल्फ क्लबका अध्यक्ष सुरिद घिमिरे उपविजेता भए ।
यसैगरी टासी डोङले लङगेस्ट ड्राइभको उपाधिमा कव्जा जमाउँदा सुरेन्द्र फुयालले क्लोजेस्ट टु दी पिनको पुरस्कार जिते ।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल पर्यटन बोर्डका प्रमूख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, गोकर्ण गल्फ क्लबका अध्यक्ष घिमिरे, क्लबका कप्तान जोसेफ नाथन, नेपालका लागि कतारी दुतावासका डिसिएम खालिद अब्दुल्लाह अल इब्राहिमलगायतले पुरस्कृत गरे ।
गोकर्ण गल्फ क्लबमा तीन दिन चलेको प्रतियोगितामा ८० गल्फरको सहभागिता थियो । नेपाल गल्फ संघले विश्व पर्यटन दिवसको अवसरमा प्रतियोगिता गरेको हो ।