काठमाडौं । उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउदै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लब स्वदेश फर्किएको छ ।
टोली सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा अवरण गरेको थियो । टोलीलाई बाजागाजासहित स्वागत गरिएको थियो ।
माल्दिभ्समा शुक्रबार सम्पन्नप्रतियोगितामा नेपाल, उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र ताजकिस्तानका ६ टोलीले सहभागिता जनाएका थिए ।
पुलिसले लिग चरणामा हुमो, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३-० को, माल्दिभ्सको वाम्को क्लबलाई ३-२ तथा माल्लिभ्स पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो ।
गत चैत्रमा सम्पन्न आठौं एनभिए महिला भलिबल लिग विजेताको हैसियतामा पुलिसले यस काभा महिला क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर पाएको हो ।
पुलिसले प्रतियोगिताका लागि विभागीय प्रतिद्धन्द्धी नेपाल एपिएफ क्लबबाट सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यु डायमन्ड यु स्पोर्टस क्लबबाट सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको थियो ।