जावालाखेल । ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) का लागि ‘ट्यालेन्ट हन्ट’ बाट ज्याक्युशा थापालाई छनोट गरेको छ ।
सिंगापुरमा जन्मिएर उतै भलिबल सिकेकी ज्याक्युशा जावलाखेल भलिबल तालिम केन्द्रमा शनिबार भएको ‘ट्यालेन्ट हन्ट’ मा करिब चार दर्जन प्रतिस्पर्धीलाई पछि पर्दै अब्बल ठहरिइन् ।
प्रशिक्षक उत्सव खड्का र व्यवस्थापक श्रद्धा क्षेत्रीले उनलाई आइतबार क्लबमा स्वागत गरेका थिए ।
ललितपुर नखिपोटमा बस्ने ज्याक्युशा जेम्स उच्च शिक्षा संस्थानमा कक्षा १२ मा अध्यायनरत छिन्। सन् २०२२ मा बुवा सिंगापुर पुलिसबाट सेवानिवृत्त भएपछि ज्याक्युशाको परिवार नेपाल फर्किएको थियो ।
आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले नेपाली भलिबल इतिहामै पहिलो पटक हुन लागेको प्रतियोगिताका फ्रेन्चाइजले एक खेलाडी ‘ट्यालेन्ट हन्ट’ बाट छनोट गर्नुपर्ने नियम बनाएको छ ।
प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णाली यसभिसले सहभागिता जनाउने छन् ।
ललितपुरको टोली
सलिना श्रेष्ठ (मार्की), पुनम चन्द, कामना विष्ट, साफिया पुन, निशा चौधरी, नेहा चौधरी, भावना तामाङ, अनुषा चौधरी, ज्याक्युशा थापा (ट्यालेन्ट हन्ट)