मेड्मेडेभ क्वार्टरफाइनलमा, फेडेररद्धारा प्रतियोगिता त्याग

पेरिस, (खेलाडी)- दोस्रो वरियाताका ड्यानिअल मेड्भेडेभले गएराती चिलीका क्रिष्टेन गारिनलाई ३-० को सेटमा हराउँदै फ्रेन्च ओपनको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् । 

रुसका मेड्भेडेभले २२औं वरियाताका गारिनलाई पहिलो दुई सेटमा सहजै हराए पनि तेस्रो सेटमा जितका लािग संघर्ष गर्नुपर्यो । मेड्भेडेभले क्रिष्टेनलाई ६-२, ६-१, ७-५ को सेटमा हराएका हुन् । मेड्भेडेभले अब सेमिफाइनल प्रवेशका लागि पाँचौं वरियाताका स्टेफानोस सिटसिपससँग खेल्नेछन् ।  

ग्रिसका सिटसिपसले गएराती स्पेनका पाब्लो कारेनो बुस्टालाई ३-० को सोझो सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका थिए । २२ वर्षे सिटसिपसले १२औं वरियाताका कारेनो बुस्टालाई ६-३, ६-२, ७-५ ले हराएका हुन् । 

रोजर फेडेररले चोटका कारण प्रतियोगिताबाट बाहिरिने निर्णय गरेपछि इटालीका माट्टेयो बेरेट्टीनीले सहजै क्वार्टरफाइनलमा स्थान बनाए । 

पूर्व विश्व नम्बर एक रोजर फेडेररले प्रतियोगिताको अन्तिम १६ मा स्थान बनाएको भोलीपल्ट नै फ्रेन्च ओपन छाडेका थिए । २० पटक ग्राण्ड स्लामको उपाधि जितिसकेका स्विट्जरल्यान्डका फेडेररले भने, ‘मेरो टिमसँगको छलफलपछि आज फ्रेन्च ओपनबाट विदा हुने निर्णय लिएको छु । दुई वटा घुँडाको शल्यक्रियापछि पुनरागमनका लागि एकवर्ष लाग्यो । मैले मेरो शरिरको संकेत बुझ्नुपर्छ । त्यसकारण मैले जबरजस्ती गर्नु हुदैन ।’