विश्‍व नम्बर एक बार्टीले चोटका कारण फ्रेन्च ओपन छाडिन्

पेरिस, (खेलाडी)– विश्‍व नम्बर एक एश्लेग बार्टीले चोटका कारण फ्रेन्च ओपनको दोस्रो चरणबाट विदा लिएकी छिन् ।

बिहीबार माग्दा लिनेटविरुद्ध खेल्ने क्रममा बार्टीको पिठ्युँमा चोट लागेको थियो । २०१९ को उपाधि विजेता बार्टीले पहिलो सेट १-६ ले हारेकी थिइन् भने दोस्रो सेट २-२ मा चलिरहेको थियो । 

बार्टीले खेल्न नसकेर रिटायर्डहर्ट भएपछि पोल्यान्डकी लिनेट तेस्रो चरणमा प्रवेश गरेकी छिन् । तत्काल उनको कोर्टमै उपचार गराइएको थियो । तर उपचारका बावजुद पीडा कम नभएपछि बार्टीले प्रतियोगिता त्याग्‍ने निर्णय लिनुपरेको थियो । 

दोस्रो वरियाताकी नाओमी ओसाकाले पनि फ्रेन्च ओपननबाट नाम फिर्ता लिइसकेकी छिन् । मानसिक समस्याबाट गुज्रिइरहेको बताउँदै सञ्‍चारकर्मीलाई प्रतिक्रिया दिन अस्विकार गरेपछि ओसाकालाई अनिवार्य पत्रकार सम्मेलनमा उपस्थित हुन आयोजकले उर्दी जारी गरेको थियो । अन्य तीन ग्राण्ड स्लामका आयोजकहरुले पनि पत्रकारलाई प्रतिक्रिया नदिए सबै प्रतियोगिता खेल्न नदिने चेतावनी दिएका थिए । त्यसअघि नै ओसाकाले जारी फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएकी थिइन ।