सिट्सिपस र जेरेभको संघर्षपूर्ण जित, दुई पटकको उपविजेता थिम बाहिरिए

पेरिस, जेठ १७ (खेलाडी)– पाँचौं वरियाताप्राप्त स्टेफानोस सिट्सिपसले फ्रान्सका जेरेमी चार्डेलाई ३–० को सेटमा हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान सुरक्षित गरेका छन् ।

ग्रिसका सिट्सिपसले ७–६(८÷६), ६–३, ६–१ को सेटमा विजय हासिल गरेका हुन् । दोस्रो चरणमा सिट्सिपसले अमेरिकाका सेवास्टिन कोर्डा र स्पेनका पेड्रो मार्टिनेजबीचको विजेताविरुद्ध खेल्नेछन् । 


जर्मनीका एलेक्जेन्डर जेरेभले फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान पक्का गर्न आफ्नै देशका ओस्कार ओट्टेसँग संघर्ष गर्नु पर्यो । छैटौं वरियताका जेरेभले पहिलो दुई सेट ३–६, ३–६ ले गुमाए पनि बाँकी सेट ६–२, ६–२, ६–० ले जित्दै दोस्रो चरणमा स्थान बनाएका हुन् । जेरेभले अब रुसका रोमन सफिउल्लिनविरुद्ध खेल्नेछन् । सफिउल्लिनले स्पेनका टाबेर्नरलाई ७–६(७÷४), १–६, ६–०, ६–२ को सेटमा हराएका थिए ।
  

दुई पटकका उपविजेता डोमिनिक थिम फ्रेन्च ओपनको पहिलो चरणबाटै बाहिरिएका छन् । चौथो वरियाता प्राप्त अष्ट्रियाका थिमले पहिलो दुई सेट ६–४, ७–५ ले जितेका थिए । तर युएस ओपन विजेता थिमले त्यसपछि लय गुमाए । उनी बाँकी सेटमा पाब्लो स्पेनका एन्डुजरसँग ३–६, ४–६, ४–६ को नतिजामा पराजित भएका हुन् ।
 

११औं वरियाताका रोबर्टो बाउटिस्टा अगुटले स्पेनकै भिलेला मार्टिनलाई ६–४, ६–४, ६–२ को नतिजामा हराए । जापानका काई निशिकोरीले इटालीका एलेसान्द्रो जियानेसीलाई ६–४, ६–७(४÷७), ६–३, ४–६, ६–४ को सेटमा हराए ।