नाडाल फ्रेन्च ओपनको दोस्रो चरणमा

पेरिस, जेठ १९  (खेलाडी)– १३ पटकका फ्रेन्च ओपन विजेता राफेल नाडालले गए राति अस्ट्रेलियाका एलेक्सी पोपेरिनलाई ३–० को सोझो सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाएका छन् । 

कीर्तिमानी १४औं पटक फ्रेन्च ओपनको उपाधि जित्ने लक्ष्यमा रहेका नाडालले पहिलो दुई सेट सहजै जिते पनि अन्तिम सेटका लागि भने संघर्ष गर्नुपर्यो । नाडालले २१ वर्षे पोपेरिनलाई ६–३, ६–२, ७–६(७÷३) को सेटमा हराएका हुन् । गत वर्ष नाडालले उपाधि जित्दा खेलेको सबै सात सेट जितका थिए । 

‘विशेषगरी क्ले कोर्टमा वेष्ट अफ फाइभको खेल हुन्छ । त्यसैले खेलाडीलाई एकनाशको प्रदर्शन गर्न कठिन हुन्छ,’ तेस्रो सेटको प्रदर्शनबारे सोधिएको प्रश्नमा नाडालले भने, ‘पक्कै पनि म कुनै पनि सेट हार्न चाहन्नथेँ । तर खेलमा यस्तो हुन्छ ।’

६३औं वरियातामा रहेका पोपेरिनको प्रशंसा गर्दै तेस्रो वरियाताका नाडालले भने, ‘उनको सर्भिस, बेसलाइनबाट उनले हान्ने सट कुनै शीर्ष खेलाडीको भन्दा कम छैन । उनीविरुद्ध खेल्न धेरै कठिन छ । यस्तै खेल्दै जाने हो भने उनको भविष्य सुन्दर छ । उनी उत्कृष्ट खेलाडी हुन् ।’