क्रोएसिया र पोल्यान्ड बराबरीमा रोकिए

लन्डन, (खेलाडी)– आसन्न युरोपियन च्याम्पियनसिप (युरो २०२०) को तयारीमा रहेको क्रोएसिया गएराती घरेलु मैदानमा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्मेनियासँग १–१ को बराबरीमा रोकिएको छ । 

युरो २०२० को समूह ‘डी’मा क्रोएसियाले इङ्ल्यान्ड, स्कटल्यान्ड र चेक गणतन्त्रविरुद्ध खेल्नेछ । विश्वकपको उपविजेता क्रोएसियाले इभान पेरिसिचको गोलबाट २४औं मिनेटमा अग्रता लिएको थियो । अर्मेनियाका वैकल्पिक खेलाडी वेबमायर एनगोलोले बराबरी गोल फर्काए । 

गएराती नै नर्थ म्यासेडोनियाले पनि स्लोभेनियासँग १–१ को बराबरी खेल्यो । नर्थ म्यासेडोनियाले इलजिफ इलमसको गोलबाट ५५औं मिनेटमा अग्रता लिएको थियो । स्लोभेनियाका डोमेन क्रिनिगोजले इन्जुरी समयमा गोल फर्काए । नर्थ म्यासेडोनिया युरो २०२० को समूह ‘सी’ मा छ । समूह ‘सी’ मा नर्थ म्यासेडोनियाले अस्ट्रिया, नेदरल्यान्ड्स र युक्रेनविरुद्ध खेल्नेछ । 

पोल्यान्डले गएराती घरेलु मैदानमा रुससँग १–१ को बराबरी खेल्यो । युरो २०२० को तयारीमा रहेको पोल्यान्डले याकुब स्वियरचोकको गोलबाट चौथो मिनेटमा अग्रता लिएको थियो । रुसका भिएचेस्लाभ काराभाएभले २१औं मिनेटमा बराबरी गोल फर्काए । 

युरो २०२० मा रुसले समूह ‘बी’ मा डेनमार्क, फिनल्यान्ड र बेल्जियमविरुद्ध खेल्नेछ । पोल्यान्डले समूह ‘इ’ मा स्पेन, स्विडेन र स्लोभाकियाविरुद्ध खेल्नेछ ।