फेडेररले टोकियो ओलम्पिक नखेल्ने

जेनेभा, (खेलाडी)- ग्रास कोर्टको सिजन दौरान घुँडामा चोट लागेका कारण स्विस स्टार रोजर फेडेररले जापानमा यसै महिनाको अन्त्यमा सुरु हुने टोकियो ओलम्पिक २०२० मा सहभागिता जनाउन नसक्ने भएका छन् । 

२० पटकका ग्राण्ड स्लाम च्याम्पियन फेडेररको चम्किलो टेनिस करियरमा ओलम्पिक स्वर्ण पदकको उपलब्धि भने हासिल भएको छैन । २०१२ को ओलम्पिकमा उनले रजत पदक जितेका थिए । लन्डनमा भएको उक्त ओलम्पिकमा फेडेरर फाइनलमा बेलायती खेलाडी एण्डी मरेसँग पराजित भएका थिए । ओलम्पिकभन्दा एक महिना अगाडि सेन्टर कोर्टमै भएको विम्बल्डनमा मरेलाई हराउँदै फेडेररले उपाधि जितेका थिए ।

२०१६ मा पनि उपाधि रक्षा गरेका मरे भने टोकियोमा पनि फेरी स्वर्ण पदक जित्दै ओलम्पिक स्वर्णमा ह्‍याट्रिक गर्ने लक्ष्यका साथ उपस्थित हुने छन् । तर २००८ मा दोहोरो स्वर्ण पदक जितेका फेडेरर भने चोटका कारण टोकियो भ्रमणमा नजाने पक्का भइसकेको छ । 

‘ग्रास कोर्टको सिजन दौरान दूर्भाग्यवश मेरो घुँडामा समस्या आयो । जसका कारण मैले यसपालीको टोकियो ओलम्पिक खेलकुदबाट आफ्नो नाम फिर्ना लिनुपर्यो,’ फेडेररले ट्‍विटरमा लेखेका छन्, ‘ओलम्पिकमा स्विट्जरल्यान्डलाई प्रतिनिधित्व गर्नु सधै मेरो लागि गौरवको विषय बन्‍ने गरेको थियो । यसपाली खेल्न नपाउँने हुँदा मलाई अत्यन्तै दुःख लागेको छ ।’

विम्बल्डन लगत्तै टोकियो ओलम्पिक खेल्न सक्ने आशामा आफूले फिट्नेस तालिम सुरु गरे पनि सफल हुन नसकेको फेडेररले बताए । ३९ वर्षे फेडेरर टोकियो ओलम्पिकबाट नाम फिर्ता लिने पछिल्लो ठूलो नाम हुन् । 

यसअघि पुरुषतर्फ राफेल नाडाल र डोमिनिक थिइमले टोकियो ओलपम्पिक नखेल्ने निर्णय गरिसकेका छन् । यसैगरी महिलातर्फ पनि सेरेना विलियम्सले विम्बल्डनको पहिलो चरणमै रिटायर्ड हर्ट भएपछि ओलम्पिक नखेल्ने निर्णय गरेकी थिइन ।