विम्बल्डनको पहिलो चरणमा शीर्ष खेलाडी जोकोभिचले ड्रापरसँग खेल्ने

लन्डन, (खेलाडी)- नोभाक जोकोभिचले विम्बल्डनमा उपाधि रक्षाको अभियान बेयायती छनोट खेलाडी ज्याक ड्रापरसँग खेल्दै सुरु गर्ने भएका छन् भने सेरेना विलियम्सले पहिलो चरणमा एलियाक्सान्द्रा सास्‍नोभिचसँग प्रतिस्पर्धा गर्नेछिन् । 

यो वर्ष अस्ट्रेलियन ओपन र फ्रेन्च ओपन जितेपछि जोकोभिच रोजर फेडेरर र राफेल नाडालको सर्वाधिक २० ग्राण्ड स्लाम उपाधिभन्दा एक उपाधिलेमात्र टाढा छन् । 

विश्‍व वरियताको शीर्ष स्थानमा रहेका जोकोभिचले सोमबारबाट सुरु हुने विम्बल्डनमा दुई वर्षपछि उपाधि रक्षाको अभियान थाल्दा गत साता क्‍विन्स क्लबमा क्‍वार्टरफाइनलसम्मको यात्रा तय गरेका १९ वर्षे ड्रापरसँग पहिलो चरणमा खेल्नेछन् । गत वर्ष कोभिड १९ महामारीका कारण विम्बल्डन स्थगित गरिएको थियो । 

जोकोभिचले क्‍वार्टरफाइनलमा आन्द्रेई रुब्लेभलाई प्रतिद्वन्द्वीका रुपमा पाउने सम्भावना छ भने अन्तिम आठमा फेडेररले दोस्रो वरियताका डनिल मेड्भेडेभको सामना गर्न सक्नेछन् । 

आठ पटकका विम्बल्डन च्याम्पियन फेडेररले पहिलो चरणमा एड्रियन मानारिनोसँग खेल्नेछन् । यसैगरी चोटका कारण चार वर्षपछि पुनरागमन जनाउन लागेका दुई पटकका पूर्व च्याम्पियन बेलायती स्टार एण्डी मरेले पहिलो चरणमा २४औं वरियताका निकोलज बासिलाश्भिलीलाई प्रतिद्वन्द्वीका रुपमा पाएका छन् । 

यसै महिनाको सुरुआतमा सम्पन्‍न फ्रेन्च ओपनको रोमाञ्‍चक फाइनलमा जोकोभिचसँग पराजित भएका स्टेफानोस सिट्सिपसले पहिलो चरणमा अमेरिकाका फ्रान्सिस टियाफोसँग प्रतिस्पर्धा गर्नेछन् । 

महिलातर्फकी साविक विजेता सिमोना हालेपले पिडुलाको चोटका कारण शुक्रबार प्रतियोगिताको ‘ड्र’ हुनुभन्दा केही समयअघिमात्र आफू यसपाली उपाधि रक्षा अभियानमा सहभागि नहुने बताएकी थिइन । 

दुई वर्षअघि सम्पन्‍न प्रतियोगिताको पछिल्लो संस्करणको फाइनलमा हालेपसँग पराजित भएकी सेरेनाले पहिलो चरणमा बेलारुसकी सास्‍नोभिचलाई पराजित गरे क्‍वार्टरफाइनलमा तेस्रो वरियताकी इलिना स्यिटोलिनासँग भिड्ने सम्भावना रहन्छ । 

विश्‍न नम्बर एक महिला खेलाडी एश बार्टीले क्लारा स्वारेजसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछिन् । क्यान्सरबाट मुक्त हुँदै उनले रोलान्ड गारोसबाट ग्राण्ड स्लाममा हालै पुनरागमन जनाएकी थिइन । बार्टीले क्‍वार्टरफाइनलमा बियान्का आन्द्रेस्कुसँग खेल्नुपर्ने सम्भावना छ ।

पेट्रा भिटोभाले पहिलो चरणमा स्लोएन स्टेफन्ससँग खेल्नेछिन् भने कोको गाउफको पहिलो खेल २० वर्षे बेलायती खेलाडी फ्रान जोन्सविरुद्ध हुनेछ ।