युरो २०२० को पहिलो नकआउट खेलमा लेस्टरका वार्ड र स्माइचेल फरक पोष्‍टमा

एम्सटरडम, (खेलाडी)- गारेथ बेल र आरोन रामसेको भागमा जस पर्ने गरेको छ, तर ड्यानी वार्डले समूह चरणमा पर्खालको भूमिका निर्वाह नगरेको भए युरोपियन च्याम्पियनसिप (युरो २०२०) को अन्तिम १६ अन्तर्गतको खेलमा आज वेल्सले डेनमार्कको प्रतिद्वन्द्वी भएर मैदान उत्रिने मौका पाउने थिएन । 

रोबर्ट पेजको वेल्स टोलीमा आज राति नेपाली समयअनुसार पौने दश बजे पनि पोष्‍ट सुरक्षा गर्ने जिम्मेवारी वार्डको काँधमा हुनेछ । विपक्षी टोली डेनमार्कको पोष्‍ट भने लेस्टर सिटीकै गोलकिपर कास्पर स्माइचेलले सम्हल्नेछन् । स्माइचेलले पहिलो रोजाईका रुपमा लेस्टरको पोष्‍ट सम्हाल्दा वार्ड बेन्चमा थन्किनुपरिरहेको छ ।

समूह चरणका तीन खेलमा वेल्सका २८ वर्षे गोलकिपर वार्डले १३ वटा विपक्षी प्रहार जोगाएर टोलीको नकआउट चरण आधार कायम राखेका थिए । समूह चरणमा उनीभन्दा बढि फिनल्यान्डका लुकास ह्डेस्कीले १५ तथा टर्कीका उर्गुकान चाकिरले १८ बचाउ गरेका थिए । 

वार्डले प्रति गोल खाएको औसतमा ६.५ प्रतिसत बचाउ गरेका थिए । जुन प्रतियोगितामा कम्तिमा एक गोल खाने अन्य सबै गोलकिपरको भन्दा राम्रो औसत हो । समूह चरणका तीन खेलमा वेल्सले दुई गोल मात्र खाएको थियो । तर समूह चरणमा इटालीका जियानलुइजी डोनारुमा र इङ्ल्यान्डका जोर्डन पिकफोर्डले भने एउटै गोल खाएका थिएनन् । 

समूह चरणको दोस्रो खेलमा टर्कीमाथि २-० को जित हासिल गर्दा बेल र रामसे विपक्षी पोष्‍टमा निक्कै प्रभावकारी देखिएका थिए । रामसेले एक गोल गरेको खेलमा दुवै गोलका लागि बेलले अवसर सिर्जना गरेका थिए । तर खेलमा गोल नखाएर जितको आधार बनाइराख्‍न वार्डले गरेको योगदानले भने हकलाग्दो चर्चा पाएन । 

युरो २०२०को पहिलो नकआउट खेल एम्सटरडममा हुँदा वार्ड र स्माइचेल पोष्‍टको विपरित किनारामा हुनेछन् । त्यसैले यो खेलमा लेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सको चासो अली बढि नै हुनेछ । 

‘कास्पर एउटा राम्रा गोलकिपर हुन् र डेनमार्क उत्कृष्‍ट टिम हो । अन्तिम १६ को खेल पक्कै पनि कठिन हुनेछ । विपक्षीलाई सम्मान गर्नुपर्छ, तर हामी आफूमा त्योभन्दा बढि विश्‍वास गर्छौ । हामी जुनसुकै टिमविरुद्ध खेल्नका लागि पनि तयार छौं,’ वार्डले अन्तिम १६को प्रतिद्वन्द्वी पक्का भएपछि भनेका थिए । 

वेल्सका लागि पछिल्लो १४ खेलमा गोलको खडेरी बेहोरेका बेलका लािग विपक्षी पोष्‍टमा स्माइचेलको उपस्थितीले हौसला प्रदान गर्न सक्छ । प्रिमियर लिगको वितेको सिजनमा टोटेनह्‍यामले लेस्टरमाथि ४-२ को जित हासिल गर्दा बेलले दुई गोल गरेका थिए, जसमा स्माइचेल लेस्टरको गोलकिपर थिए । 

प्रतियोगिताको पहिलो दुई साता डेनमार्कका लागि अत्यन्तै उतारचढावपूर्ण रहयो । पहिलो खेलमा फिनल्यान्डसँग पराजय भोगेको टोलीका लागि त्यो दिन हारभन्दा पनि ठूलो पीडा मिडफिल्डर क्रिस्टियन इरिक्सनको स्वास्थ्यले दिएको थियो । मध्यान्तर हुन दुई मिनेट बाँकी रहँदा ह्रदयघातका कारण इरिक्सन मैदानमै वेहोस भएर ढलेका थिए ।

मैदानमा सामान्य उपचारलगत्तै तत्काल अस्पताल पुर्‍याइएका इरिक्सनको स्वास्थ्यलाभ तिब्र गतिमा भयो । उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । समूह चरणको अन्तिम खेलअघि उनले टोलीको अभ्यासस्थल पुगेर सहयात्रीहरुको हौसला बढाएका थिए । रुसविरुद्धको अन्तिम खेलमा डेनमार्कले ४-१ को भावुक जित हासिल गर्दै नकआउट चरणको यात्रा पक्का गरेको थियो । 

इरिक्सन पूर्ण रुपमा ठिक भइसकेका कारण डेनमार्कका प्रशिक्षक कास्पर जुलम्यान्डलाई राहत मिलेको छ । उनले आफ्नो ध्यान पूर्ण रुपमा मैदानमा लगाउन पाएका छन् । 

जुलम्यान्डले आफ्नो टोलीमा सबै खेलाडी एकसेएक भएकाले पहिलो रोजाई छनोट गर्नु नै चुनौतीपूर्ण भएको बताएका छन् । 

‘धेरैजसो खेलमा हामी दोस्रो हाफमा बलियो देखिएका छौं,’ उनले भने, ‘हरेक खेलको अन्तिम २० मिनेटमा हामी निक्कै सशक्त रुपमा प्रस्तुत भएका छौं । त्यसैले कसले खेल सुरु गर्छ र कसले अन्त्य गर्छ भन्‍ने कुरा हाम्रा लागि महत्वपूर्ण छ ।’