सेरेनाको विजयी सुरुआत


पेरिस, जेठ १८ (खेलाडी)– पूर्व विश्व नम्बर एक महिला खेलाडी सेरेना विलियम्सले इरिना–कामेलिया बेगुलाई २–० को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएकी छिन् । 

फ्रेन्च ओपनमा पहिलो पटक राति भएको खेलमा अमेरिकाकी ३९ वर्षिया सेरेनाले रोमानियाकी बेगुविरुद्ध पहिलो सटेमा संघर्ष गर्नु पर्यो । सेरेनाले पहिलो सेट ७–६(८÷६) ले जितिन् । दोस्रो सेटमा भने सेरेनाले ६–२ को सहज जित निकालिन् । 

कीर्तिमानी २४औं पटक ग्राण्ड स्लाम जित्ने लक्ष्यमा रहेकी सेरेनाले तीन पटक फ्रेन्च ओपनको उपाधि जितिसकेकी छिन् । उनले पछिल्लो पटक २०१५ मा यो उपाधि जितेकी थिइन् । सेरेनाले अब रोमानियाकी मिहाइला बुजार्नेस्कोविरुद्ध खेल्नेछिन् । बुजार्नेस्कोले नेदरल्यान्ड्सकी एरान्टजा रुसलाई ७–५, ७–५ को सेटमा पराजित गरेकी थिइन् ।