क्रेसिकोभालाई फ्रेन्च ओपनको महिला एकल उपाधि

पेरिस, (खेलाडी)- पहिलो पटकको फाइनलयात्रामै ग्राण्ड स्लाम च्याम्पियन बन्‍ने क्रममा चेक गणतन्त्रकी बार्बोरा क्रेसिकोभाले आज एनास्थासिया पाभ्लुचेन्कोभामाथि प्रतिस्पर्धात्मक जित हासिल गरेकी छिन् । 

कोभिड १९ महामारीका बीच रोलान्ड गारोसमा सिमित संख्याका दर्शकको उपस्थितीमा सम्पन्‍न फाइनलमा क्रेसिकोभाले तीन सेटसम्म संघर्ष गर्दै उपाधिमा कव्जा जमाएकी थिइन । 

रुसी स्टार पाभ्लुचेन्कोविरुद्ध उनको जित धेरैका लागि अनपेक्षित थियो । तर ६-१, २-६, ६-४ को जित हासिल गरेपछि क्रेसिकोभाले उपाधि २०१७ को नोभेम्बरमा क्यान्सरका कारण ४९ वर्षको उमेरमा निधन भएकी आफ्नी पूर्व प्रशिक्षक याना नोभोट्नालाई समर्पित गरिन । 

नोभोट्नाले अन्तिम स्वास लिइरहँदा आफूलाई टेनिसमा समर्पित भएर लागिरहन र ग्राण्ड स्लाम प्रतियोगिता जित्‍ने प्रयास गर्न भनेको सम्झँदै २५ वर्षे नयाँ ग्राण्ड स्लाम च्याम्पियनले उपाधि पूर्व प्रशिक्षकमा समर्पित गरेकी हुन् ।

‘उनको मृत्युपछि मेरा दिनहरु साच्चै अति नै कठिन भएका थिए । म सधै उनीसँगै हुन्थेँ । उनले मर्नुअघि मसँग अन्तिम कुरा गर्दा पनि टेनिसमा समर्पित भइरहन र ग्राण्ड स्लाम जित्‍ने प्रयास गर्न भनेकी थिइन् । आज उनको त्यो इच्छा पूरा भएको छ । उनले माथिबाट यो हेरिरहेकी होलिन र अहिले उनी खुसी होलिन,’ उपाधि जितेपछि भावुक बनेकी क्रेसिकोभाले भनिन ।