विश्व बक्सिङ च्याम्पियनसिपकाे छनाेट शुक्रबार र शनिबार

काठमाडौं, (खेलाडी)- सर्बियामा आगामी अक्टोबरको अन्त्यमा सुरु हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागिताका लागि यसै साता छनोट प्रतियोगिता हुने भएको छ । 

नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले शनिबार एक विज्ञप्ति जारी गर्दै जनाएअनुसार छनोट प्रतियोगिता शुक्रबार र शनिबार हुनेछ । प्रतियोगिताका लागि खेलाडी छनोट गर्न संघले बनाएको पाँच सदस्यीय समितिको प्रतिवेदनका आधारमा विभिन्न पाँच तौल समूहमा प्रतिस्पर्धा गराइने अवालेले बताएका छन् । 

उनका अनुसार सातदोबाटोस्ति अन्तर्राष्ट्रिय खेलकुद परिषरमा रहेको बक्सिङ हलमा हुने छनोट प्रतियोगितामा ४८ देखि ५१ केजी, ५४ देखि ५७ केजी, ६० देखि ६३ केजी, ६३.५ देखि ६७ र ६७ देखि ७१ केजी तौलसमूह समावेश छन् । 

‘त्यहीँबाट छनोट समितिले उत्कृष्ट खेलाडीहरु छनोट गरेर वरियता प्रदान गर्नेछ । त्यसपछि समितिकै सुझावका आधारमा विश्व च्याम्पियनसिपमा कति खेलाडी सहभागि गराउने भन्ने निर्णय गरिनेछ,’ अवालेले भने । 

छनोट प्रतियोगितामा सहभागिता जनाउनका लागि खेलाडीले ४८ घण्टाभित्रको कोभिड १९ नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ ।