काठमाडौं । नेपालले आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा शनिबार बहराइनविरुद्ध ९ विकेटको सहज जित दर्ता गरेको छ ।
जितसँगै दुई खेलमा तीन अंक जोडेको नेपाल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । नेपाल र हङकङको पहिलो खेल वर्षाले रद्द भएको थियो ।
थाइल्यान्डको ट्रेडथाइ क्रिकेट मैदानमा बहराइनले प्रस्तुत गरेको ४२ रनको लक्ष्य नेपालले चार बाल बाँकी रहँदा १ विकेट गुमाएर पूरा गर्यो । वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई पाँच ओभरमा झारिएको थियो ।
नेपाालका लागि कविता कुँवरले १८, सम्झान खड्काले अविजित १३ र कप्तान इन्दु बर्माले अविजित सात रन बनाए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित पाँच ओभरमा एक विकेट गुमाउँदै ४२ रनको योगफल तयार पारेको थियो ।
बहराइनका लागि अविजित रहेका दीपिका रसंगिकाले ३४ र थरङ गजनायकेले तीन रन बनाए ।
नेपालका लागि एकमात्र विकेट पूजा महतोले लिइन् । अब नेपालले आफ्नो तेस्रो खेलमा मंगलबार हङकङको सामना गर्नेछ ।